काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई “आमा” सम्बोधन नगर्न आग्रह गरेकी छन् । सञ्चारकर्मीले आमा भनेर सम्बोधन गरिएको विषयमा असन्तुष्टि व्यक्त गर्दै उनले आज राष्ट्रिय सभा गृहमा आयोजित कानुन दिवस कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीले “आमा” भनेर सम्बोधन गरेपछि झर्किदै विरोध जनाएकी हुन् ।
आमा सम्बोधन गर्ने सञ्चारकर्मीलाई प्रतिप्रश्न गर्दै कार्कीले “कसले आमा भनेको, तिमीहरुको आमा नै फेरिइसक्यो” भनेर आक्रोश मिश्रित शैलीमा प्रतिक्रिया जनाएकी छन् । सञ्चारकर्मीले आफूले आमा भनेर सम्बोधन गरेको र कार्कीलाई देशकै आमा भएको बताएपछि कार्कीले “तिमीहरूको आमा नै फेरिइसक्यो” प्रतिक्रिया दिएर हिडेकी हुन् ।
त्यसपछि सञ्चारकर्मीले “केही फरक पर्दैन, आमा फेरिँदैन” भन्दै प्रतिक्रिया दिएपनि जवाफमा कार्कीले आफूलाई आमा नभनी सविना काफ्ले लाई आमा भन्न आग्रह गर्दै “बालेनको श्रीमतीलाई आमा भन” भनेकी थिइन् ।
सञ्चारकर्मीले फेरि “तपाईं देशकै आमा हो” भन्न खोजेपछि कार्की “होइन, होइन” भन्दै त्यहाँबाट अघि बढेकी थिइन् ।
