काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज साँझ बस्दैछ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा साँझ ६ बजे बस्ने बैठकमा संगठनात्मक पुनर्संरचना र अनुशासनसम्बन्धी महत्वपूर्ण निर्णय हुन सक्ने संकेत गरिएको छ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकका लागि ६ वटा मुख्य एजेन्डा तय गरिएको छ। जसमा भेला तथा अधिवेशनको विशेष तालिका, आयोग र विभागका पदाधिकारी मनोनयन, केही जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही, आगामी केन्द्रीय समिति बैठकको तयारी तथा विविध विषय समावेश छन्।
विशेषगरी जिल्ला समिति विघटन र अनुशासनको कारबाही सम्बन्धी एजेन्डालाई अर्थपूर्ण रूपमा हेरिएको छ। पार्टीभित्र पछिल्ला केही समयदेखि देखिएको आन्तरिक असन्तुष्टि र संगठन व्यवस्थापनका विषयमा सचिवालयले कडा निर्णय लिन सक्ने अनुमान गरिएको छ।
रास्वपाले बजेट अधिवेशनअघि संगठनलाई थप व्यवस्थित र अनुशासित बनाउन बैठकमार्फत स्पष्ट सन्देश दिन खोजेको देखिएको छ।
