• Thursday 8th of October 2026

मन्त्रीले सवारी चालकको नियुक्ति दिएका व्यक्ति अपहरण आरोपमा पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्त गरेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धकको गम्भीर आरोपमा पक्राउ परेका छन्।

सप्तरीको महादेवा गाउँपालिका–१ घर भई हाल राजविराज–३ बस्दै आएका २७ वर्षीय मिँया एक व्यक्तिलाई नियन्त्रणमा लिई एकान्त स्थानमा बन्धक बनाएको आरोपमा पक्राउ परेका हुन्। प्रहरीमा परेको जाहेरी अनुसार उनले पीडितलाई नग्न बनाएर भिडियो समेत खिचेको र सो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना बाहिर आएको बताइएको छ।

भिडियो सार्वजनिक भएपछि सुरुमा पक्राउमा ढिलाइ भएको भन्दै आलोचना भए पनि पछि प्रहरी टोलीले उनलाई राजविराज–८ बाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीका अनुसार उनीविरुद्ध अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ। मन्त्री यादवले उनलाई २०८२ चैत २७ गते “मो. मुस्तकिम” नाममा नियुक्ति दिएका भए पनि प्रहरी अभिलेखमा उनी “मुस्तकिम मिँया” नामले चिनिने जनाइएको छ। दुवै नाम एउटै व्यक्तिको हुन सक्नेबारे पनि अनुसन्धान भइरहेको छ।

प्रहरीले घटनाका सबै पक्ष र प्रमाण संकलन गरेर थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖