• Wednesday 7th of October 2026

संसदमा जसको प्रवेश भए पनि म आफैँ प्रवेश गरेजस्तो लाग्छ : प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसदमा रहेको समावेशी र समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणामभन्दा पनि ठूलो उपलब्धि भएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको संसदको स्वरूप लामो संघर्ष, क्रान्ति र बलिदानको परिणामस्वरूप प्राप्त भएको उल्लेख गरे।

सम्बोधनका क्रममा प्रचण्डले महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु तथा अन्य उत्पीडित समुदायको प्रतिनिधित्वलाई ‘इन्द्रधनुषी समावेशीता’ भन्दै यसको महत्व उच्च रहेको बताए।

“परिणामका हिसाबले सानो–ठूलो जे भए पनि यो संसदमा विविध समुदायको प्रतिनिधित्व हुनु मेरो पार्टीको निर्वाचन जितभन्दा पनि ठूलो उपलब्धि हो,” उनले भने।

उनले संसदको वर्तमान संरचनालाई ऐतिहासिक संघर्षसँग जोड्दै यसलाई ‘रगतले लेखिएको कथा’ को संज्ञा दिए। “यो प्रतिनिधित्वको कथा रगतले लेखिएको हो,” उनले भने, “पिठ्यूँमा बालक बोकेर र काँधमा बन्दुक बोकेर गरिएको संघर्षको परिणाम हो।”

प्रचण्डले आफूलाई समावेशी प्रतिनिधित्वप्रति गर्व रहेको उल्लेख गर्दै कुनै पनि दलको भए पनि उत्पीडित समुदायको संसद प्रवेशलाई ऐतिहासिक उपलब्धि मान्नुपर्ने धारणा राखे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖