काठमाडौँ । अखिल नेपाल सुकुमबासी संघले सुकुमबासीहरूको अधिकार र न्यायको माग गर्दै भोलि वैशाख ३१ गते पूर्व–पश्चिम राजमार्ग पाँच घण्टा बन्द गर्ने घोषणा गरेको छ।
बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संघले बिहान ५ बजेदेखि १० बजेसम्म राजमार्ग चक्काजाम गर्ने जानकारी दिएको हो। संघले सुकुमबासी बस्तीहरूमा भइरहेको डोजर अभियान र उठिबासविरुद्ध आन्दोलन गर्न बाध्य भएको जनाएको छ।
नेपाली कम्युनिस्ट पार्टी निकट अखिल नेपाल सुकुमबासी संघका इन्चार्ज नहेन्द्र खड्काले आन्दोलनलाई देशभरका सुकुमबासीहरूको साझा अभियानका रूपमा सहयोग गर्न सबै पक्षसँग आग्रह गरेका छन्।
उनले सरकारी कदमका कारण सुकुमबासीहरू विस्थापित हुनुका साथै ठूलो आर्थिक र मानवीय क्षति भएको दाबी गर्दै त्यसको प्रतिवाद आवश्यक रहेको बताए।
संघका अध्यक्ष अमर परियारले यातायात व्यवसायी, सुरक्षा निकाय र प्रशासनलाई आन्दोलनमा सहयोग गर्न आग्रह गर्दै सुकुमबासीको दीर्घकालीन समाधानका लागि जमिन व्यवस्थापन गर्न सरकारसँग माग गरे।
विभिन्न सुकुमबासी तथा राजनीतिक संगठनहरूले पनि आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्। नेपाली कांग्रेस निकट नेपाल सुकुमबासी तथा अव्यवस्थित बसोबासी संघ र जसपा निकट सुकुमबासी संघले समेत आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्।
संघका महासचिव प्रकाश खरेलका अनुसार पूर्व–पश्चिम राजमार्ग चक्काजामसँगै काठमाडौँको माइतीघर मण्डलामा संयुक्त प्रदर्शनसमेत गरिनेछ।
