काठमाडौं, ४ जेठ । नेपालले स्कटल्याण्ड माथी सहज जीत निकालेको छ।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सोमबार सम्पन्न खेलमा नेपालले स्कटल्याण्ड माथी सहज जीत निकालेको हो।
स्कटल्याण्डले दिएको १९५ रनको सामान्य लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले ९८ बलमा ५ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ७४ रनको अविजित इनिङ्स खेले । रोहितले ७ महिना पछि आठौं ओडिआई इनिङ्स पछि ५० माथिको स्कोर गरेका हुन् ।ओडिआई करियरको दोस्रो खेलमा नै अर्धशतक बनाउने क्रममा इशान पाण्डे ६१ बलमा ५५ रन बनाउँदै आउट भए । तेस्रो विकेटका लागि कप्तान रोहित र इशानले १०४ रनको शतकीय साझेदारी गरे ।
विष्फोटक सुरुआत गरेको नेपालका लागि आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ४० बलमा ५८ रनको साझेदारी गरेका थिए । दुई ओपनरलाई गुमाए पछि केही समय धरमराएको थियो । आसिफ २९ तथा कुशल २८ रनमा पवेलियन फर्किएका थिए ।
दीपेन्द्र सिंह ऐरीलाई मात्र २ रनमा गुमाएको नेपालका लागि आरिफ शेखले अविजित रन बनाए । स्कटल्याण्डका लागि मार्क वाटले २ तथा ब्राण्डन म्याकमुलनले १ विकेट आफ्नो नाममा गरे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड ३९.१ ओभरमा सबै विकेट गुमाएर १९४ रनको योगफलमा अल आउट भएको थियो ।
स्कटल्याण्डका लागि ब्राण्डन म्याकमुलेनले ४४ बलमा ६ चौका र ६ छक्काको सहयोगमा सर्वाधिक ७३ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ओपनर जर्ज मुन्सेसँग ४९ रनको साझेदारी गरेका थिए । मुन्से ३१ बलमा २१ रनमा आउट भए । माइकल इङ्ग्लिस ७२ बलमा ५१ रनको अर्धशतकीय इनिङ्स खेल्दै आउट भएका थिए । मार्क वाट ३४ बलमा २० रनमा आउट भएका थिए ।
नेपालका लागि लतिल राजवंशीले ४, सन्दीप लामिछानेले ३ तथा नन्दन यादव, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिएका थिए ।
