काठमाडौं । आज ज्येष्ठ १५ अर्थात् गणतन्त्र दिवसको अवसरमा सरकारले सैनिकमञ्च टुँडीखेलमा ‘गणतन्त्र दिवस २०८३’ भव्य रूपमा मनाएको छ । २०६५ सालदेखि प्रत्येक वर्ष जेठ १५ गते सरकारले गणतन्त्र दिवस मनाउँदै आएको छ ।
गणतन्त्र दिवस समारोह आयोजना गर्न प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिन्छ । गृह मन्त्रालयसँगको समन्वयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यक्रम व्यवस्थापन गर्दै आएको छ । हाल गृह मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री बालेन शाह ले सम्हालिरहेका छन् ।
गणतन्त्र दिवस समारोहमा पूर्वप्रधानमन्त्रीहरूलाई अनिवार्य रूपमा निमन्त्रणा गर्ने प्रचलन रहे पनि यस वर्षको कार्यक्रममा कुनै पनि पूर्वप्रधानमन्त्रीको उपस्थिति देखिएन । हरेक वर्ष सहभागी हुने गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई समेत कार्यक्रममा अनुपस्थित भएपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरू सुरु भएका छन् ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विदेशमा रहेका छन् भने नेपालमै रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधव कुमार नेपाल र झलनाथ खनाल पनि कार्यक्रममा उपस्थित भएनन् ।
यस विषयमा गृह मन्त्रालयका उपसचिव सन्तोष पौडेल ले हरेक वर्षझैँ सबै पूर्वप्रधानमन्त्रीलाई निमन्त्रणा गरिएको बताएका छन् ।
यता प्रचण्डको सचिवालयले भने ज्वरोका कारण उनी निवासमै आराम गरिरहेको जनाएको छ । साथै औपचारिक रूपमा ‘पूर्वप्रधानमन्त्री’ को हैसियतमा नभई सांसदको हैसियतमा मात्र निम्ता आएको दाबी गरेको छ ।
त्यस्तै पूर्वप्रधानमन्त्री ओलीको सचिवालय प्रमुख निरुदेवी पाल ले पनि सरकारबाट औपचारिक निमन्त्रणा नआएको जानकारी दिएकी छन् ।
आजको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल ले सम्बोधन गरेका थिए भने प्रधानमन्त्री बालेन शाहले उपस्थितिमात्र जनाएका थिए ।
