काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको आर्थिक विधेयक, २०८३ मार्फत मदिराजन्य पेय पदार्थमा लाग्ने अन्तःशुल्क दर वृद्धि गरेको छ । नयाँ दररेट अनुसार बियर, वाइन तथा मध्यम स्तरका केही मदिरामा कर बढाइएको छ भने उच्च श्रेणीका धेरै मदिराको कर यथावत् राखिएको छ ।
बियरमा कर वृद्धि
बियरको अन्तःशुल्क प्रति लिटर १५ रुपैयाँले बढाइएको छ । चालु आर्थिक वर्षमा प्रति लिटर २४० रुपैयाँ रहेको अन्तःशुल्क अब २५५ रुपैयाँ कायम गरिएको छ ।
अल्कोहलरहित बियरमा भने कर दोब्बर बढाइएको छ । यसअघि प्रति लिटर ४५ रुपैयाँ रहेको अन्तःशुल्क अब ९० रुपैयाँ पुगेको छ ।
त्यस्तै, छ्याङ (कन्ट्री बियर) मा प्रति लिटर ४८ रुपैयाँबाट बढाएर ५० रुपैयाँ अन्तःशुल्क निर्धारण गरिएको छ ।
वाइनमा पनि बढ्यो कर
१२ देखि १७ प्रतिशतसम्म अल्कोहल भएको वाइनमा प्रति लिटर ४६० रुपैयाँबाट बढाएर ४९० रुपैयाँ अन्तःशुल्क तोकिएको छ ।
१७ प्रतिशतभन्दा बढी अल्कोहल भएको वाइनमा प्रति लिटर ५३५ रुपैयाँबाट बढाएर ५७० रुपैयाँ पुर्याइएको छ ।
सेम्पेन, सेरी र साके जस्ता पेय पदार्थमा पनि अन्तःशुल्क वृद्धि गरिएको छ । पहिले प्रति लिटर ५१६ रुपैयाँ रहेको कर अब प्रकारअनुसार ५४० देखि ५७० रुपैयाँसम्म कायम गरिएको छ ।
कडा मदिरामा सीमित परिवर्तन
ह्विस्की, ब्रान्डी, रम र भोड्का जस्ता प्रिमियम कडा मदिरामा भने ठूलो परिवर्तन गरिएको छैन ।
१५, २५ र ३० यु.पी. शक्तिका मदिरामा पुरानै दर कायम गरिएको छ।
१५ यु.पी. : प्रति लिटर रु. १,८६०
२५ यु.पी. : प्रति लिटर रु. १,३९०
३० यु.पी. : प्रति लिटर रु. १,२९०
तर ४० यु.पी. शक्ति (३४.२३ प्रतिशत अल्कोहल) भएको मदिरामा प्रति लिटर ६५० रुपैयाँबाट बढाएर ६९० रुपैयाँ गरिएको छ ।
५० यु.पी. शक्ति (२८.५३ प्रतिशत अल्कोहल) भएको मदिरामा प्रति लिटर ४५० रुपैयाँबाट बढाएर ४९० रुपैयाँ कायम गरिएको छ ।
तयारी पेयमा पनि वृद्धि
मदिरा मिश्रित तयारी पेय (Ready-to-Drink) मा ५ प्रतिशतसम्म अल्कोहल भएका पेय पदार्थको अन्तःशुल्क प्रति लिटर २४० रुपैयाँबाट बढाएर २५५ रुपैयाँ पुर्याइएको छ ।
सरकारले विशेषगरी बियर, वाइन र मध्यम स्तरका मदिरामा कर वृद्धि गरेर राजस्व बढाउने लक्ष्य राखेको देखिन्छ । उच्च मूल्यका प्रिमियम मदिरामा भने कर संरचनामा उल्लेखनीय परिवर्तन गरिएको छैन ।
आयातित मदिराको हकमा अल्कोहलको मात्रामा १ प्रतिशतसम्मको सामान्य फरक भए पनि सोही दरबन्दी लागू हुने व्यवस्था यथावत् राखिएको छ ।
