काठमाडौँ । विश्व हिन्दु परिषद् नेपालले पशुपतिनाथ मन्दिरको प्रवेश व्यवस्था थप प्रभावकारी बनाउन तथा सुरक्षा र अनुगमन प्रणाली कडा गर्न माग गरेको छ।
परिषद्को मठ–मन्दिर, अर्चक, पुरोहित विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा पशुपतिनाथको गर्भगृह तथा मूल मन्दिर क्षेत्रमा हिन्दु धर्मावलम्बीबाहेक अन्यलाई प्रवेश निषेध गरिएको परम्परागत व्यवस्था रहेको जनाएको छ।
पछिल्लो समय सार्वजनिक भएको एक भिडियोमा उक्त व्यवस्था उल्लङ्घन भएको देखिएको भन्दै परिषद्ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्तो व्यवस्था कुनै समुदायप्रति विभेद नभई मन्दिरको धार्मिक परम्परा, आस्था र पूजा पद्धतिको संरक्षणका लागि रहेको परिषद्को दाबी छ।
यस्ता घटना दोहोरिन नदिन प्रवेश व्यवस्थालाई प्रभावकारी बनाउन, सुरक्षा तथा अनुगमन कडा गर्न र दोषी देखिएका व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न परिषद्ले माग गरेको छ।
