काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा भावुक भिडियो पोस्ट गरेर सम्पर्कविहीन भएकी शोभा पाठक लाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराई का अनुसार पाठकलाई बालाजुस्थित वनस्थली क्षेत्रबाट उद्धार गरिएको हो ।
प्रहरीले उनलाई थप परामर्श तथा स्वास्थ्य मूल्याङ्कनका लागि मनमोहन अस्पताल लगेको जनाएको छ । साथै उनका परिवारका सदस्यलाई पनि सम्पर्क गरी बोलाइएको छ ।
प्रहरीका अनुसार पाठकलाई आइतबार बिहान करिब ९:१५ बजे उद्धार गरिएको थियो । उनले शनिबार राति फेसबुकमा भावुक गीतको पृष्ठभूमिमा रुँदै गरेको भिडियो पोस्ट गरेकी थिइन्, जसपछि उनको अवस्थाबारे चासो र चिन्ता बढेको थियो ।
एसपी भट्टराईले प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताउँदै पाठकले उक्त भिडियो किन पोस्ट गरिन् भन्ने विषय खुल्न बाँकी रहेको जानकारी दिएका छन् ।
पाठकले यसअघि महेश बस्नेत विरुद्ध कानुनी कारबाहीको माग गर्दै सार्वजनिक रूपमा आवाज उठाउँदै आएकी थिइन् ।
प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ ।
