वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। जिल्ला अदालत पर्साले जारी गरेको पक्राउ पुर्जीको आधारमा पर्सा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी सुदीपराज पाठकका अनुसार मेयर सिंह पर्साको ठोरी क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पुर्जी जारी भएपछि मेयर सिंह एक दिन अदालतमा उपस्थित भएका थिए। त्यसपछि उनी सम्पर्कविहीन बनेका थिए। विशेष निगरानी तथा खोजतलासका क्रममा उनलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।
गत जेठ १२ गते जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा मेयर सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। स्थानीय लियाकत अलीको जाहेरीका आधारमा अदालतले उक्त आदेश दिएको बताइएको छ।
पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान र सोधपुछ जारी रहेको प्रहरीले जनाएको छ।
