काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५० लाख रुपैयाँसम्म मूल्यका गाडीमा मूल्य घट्न सक्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार सङ्घले आयोजना गरेको बजेटपछिको अन्तरक्रिया कार्यक्रममा उनले विलासिताका गाडीमा मात्र कर बढाइएको स्पष्ट पारे।
उनका अनुसार केही वर्षअघि विद्युतीय गाडीको प्रयोग बढाउन व्यापक कर छुट दिइएको भए पनि अहिले आवश्यकता र बजार अवस्थाअनुसार कर संरचना परिमार्जन गरिएको हो।
“अहिले १ करोड रुपैयाँसम्मका विद्युतीय गाडी चढेर हिँड्नु पनि विलासिता हो, यो सबैले स्वीकार गर्नुपर्छ,” उनले भने। प्रधानमन्त्रीको निर्देशनअनुसार ५० लाख रुपैयाँभन्दा कम मूल्यका गाडीमा कर नबढाइएको र ५० लाखभन्दा माथिका गाडीमा कर समायोजन गरिएको उनले बताए।
अर्थमन्त्री वाग्लेले अटो व्यवसायीहरूले किलोवाटका आधारमा गाडी आयात गर्दा महालेखा परीक्षकको कार्यालयबाट प्रश्न उठ्ने गरेको उल्लेख गर्दै अब मूल्यका आधारमा कर निर्धारण गर्दा व्यवसायीहरूलाई समेत सहज हुने बताए।
उनले विद्युतीय सवारीसाधनलाई पूर्ण रूपमा स्वच्छ ऊर्जाको माध्यम मान्न नसकिने तर्क गर्दै ब्याट्रीको व्यवस्थापन र पुनःप्रयोगको विषय अझै चुनौतीपूर्ण रहेको धारणा राखे।
