• Tuesday 6th of October 2026

गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले


  • धनकुटा खबर
  • .

काठमाडौँ, जेठ २२ — गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूको हालै गरिएको सरुवा सूची सच्याएको छ। जेठ १८ गते प्रधानमन्त्री तथा गृहमन्त्रीस्तरीय निर्णयबाट सार्वजनिक गरिएको सरुवामा संशोधन गर्दै मन्त्रालयले केही जिम्मेवारी हेरफेर गरेको हो।

संशोधित निर्णयअनुसार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा गरिएका एसएसपी शान्तिराज कोइरालालाई त्यहाँबाट हटाएर विशेष ब्युरोमा पठाइएको छ। उनको स्थानमा विशेष ब्युरोमा कार्यरत एसएसपी सुरेश काफ्लेलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्वको जिम्मेवारी दिइएको छ।

यसअघि नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्जबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा गरिएका कोइरालाको नियुक्तिप्रति आलोचना भएको थियो। प्रधानमन्त्री तथा गृहमन्त्रीस्तरीय निर्णयबाट ३३ जना एसएसपीको सरुवा हुँदा कोइरालालाई एक इन्चार्ज पदबाट अर्को इन्चार्ज पदमा पठाइएको भन्दै प्रश्न उठाइएको थियो।

प्रहरी प्रधान कार्यालयको आन्तरिक मापदण्डअनुसार प्रदेश प्रहरी कार्यालय वीरगन्ज ‘ख’ श्रेणीको कार्यालय हो भने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ‘क’ श्रेणीमा पर्दछ। उक्त मापदण्डमा कुनै कार्यालयको इन्चार्जको जिम्मेवारी सम्हालेपछि अर्को इन्चार्ज पदमा सरुवा हुनुअघि कम्तीमा एक वर्ष अन्यत्र कार्य गर्नुपर्ने व्यवस्था रहेको छ।

यही मापदण्ड विपरीत तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले कोइरालालाई उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ल्याउन गृह मन्त्रालयमा सिफारिस गरेको भन्दै आलोचना भएको थियो। त्यसपछि गृह मन्त्रालयले सरुवा सूची पुनरावलोकन गर्दै निर्णय सच्याएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖