काठमाडौँ, जेठ २२ — राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजीनामा दिएका धवलशमशेर राणाबीच नयाँ राजनीतिक दल गठन गर्ने सहमति भएको छ।
शुक्रबार उनीहरूबीच ११ बुँदे लिखित समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीअनुसार नयाँ राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यसहित आगामी दिनमा संयुक्त रूपमा संगठन विस्तार र राजनीतिक कार्यक्रम अघि बढाउने तयारी गरिएको जनाइएको छ।
उक्त सहमतिपछि उनीहरूले देशको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै वैकल्पिक राजनीतिक शक्ति निर्माण आवश्यक रहेको धारणा राखेका छन्।
नयाँ दलको नाम, संरचना र नेतृत्वबारे विस्तृत छलफल जारी रहेको र चाँडै औपचारिक घोषणा गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।
