• Tuesday 6th of October 2026

रास्वपा जिल्ला अधिवेशन: देखियो ‘पुरानै दलको पारा’, जताततै विवाद र झडप !


  • धनकुटा खबर
  • .

काठमाडौँ । ​ नेपाली राजनीतिमा वैकल्पिक शक्तिका रूपमा २०७९ असार ७ मा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पनि अन्ततः पुराना दलहरूकै प्रवृत्ति देखिएको छ। आगामी असार ७,८ र ९ गतेसम्म हुने प्रथम राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा देशैभर सुरु भएको जिल्ला अधिवेशनका क्रममा रास्वपाभित्र तीव्र गुटबन्दी, आन्तरिक विवाद र हानाहानसम्मको स्थिति देखिएको हो।

​शनिबार र आइतबार (जेठ २३ र २४ गते) ७७ मध्ये ६६ जिल्लामा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको रास्वपाभित्र नेतृत्व र प्रतिनिधि छनौटको विषयलाई लिएर तल्लो तहसम्मै विवाद चुलिएको छ।
​सनिवार अधिवेशनकै क्रममा मधेश प्रदेशको पर्सामा रास्वपाका दुई पक्षबिच झडप भएको छ। वीरगन्ज-९ स्थित ‘होटल गेट वे’ मा जिल्ला अधिवेशन प्रतिनिधि छनौटको विषयलाई लिएर पार्टीका कार्यकर्ताहरूबिच विवाद सुरु हुँदा दुई समुहबिच हानाहानै भएको थियो । उक्त झडपका क्रममा रास्वपाका तीन जना कार्यकर्ता घाइते भएका थिए ।

‘नयाँ र सभ्य’ पार्टीको दाबी गर्ने रास्वपाभित्र पद र नेतृत्वका लागि भएको यो कुटाकुटले पुराना राजनीतिक दलहरूको महाधिवेशनका बेला हुने हुलमुल र मारपिटको झल्को दिएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

​

​ केही दिन अघि मात्रै सम्पन्न भएको पालिका र वडा अधिवेशनहरूमा पनि देशका विभिन्न स्थानमा झडप र विवाद भएका थियो । पार्टीमा आफू अनुकूलका मान्छे सङ्गठनमा भित्र्याउने दाउपेचका कारण केही वडा र पालिकाहरूमा विवाद अझै साम्य हुन सकेको छैन । विवादकै कारण कतिपय वडा र पालिकाहरूमा त अझैसम्म वडा अधिवेशनसमेत हुन सकेको छैन, जसले गर्दा पार्टीको सङ्गठनात्मक संरचना नै भद्रगोल बनेको अवस्था देखिएको छ।

​विवादकै कारण मधेश प्रदेशकै बारा जिल्लाको अधिवेशन त पूर्वनिर्धारित समयमा सुरु हुनै सकेको छैन । आन्तरिक विवाद तीव्र भएपछि बाराको अधिवेशन आगामी जेठ २६ गतेका लागि सारिएको छ।

​
​विवाद र झडपका बिच रास्वपाले पहिलो दिन आज शनिबार देशका ३७ जिल्लाहरूमा अधिवेशन प्रक्रिया अगाडि बढाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖