• Tuesday 6th of October 2026

सरकारले गर्‍यो १० सचिवको सरुवा


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले १० जना सचिवको सरुवा गरेको छ। गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सचिवहरूको जिम्मेवारी हेरफेर गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार मन्त्रालय पुनर्संरचनाअघि वन तथा वातावरण मन्त्रालयका सचिव रहेका गोविन्द शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वयको जिम्मेवारी दिइएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ। उपराष्ट्रपति कार्यालयका सचिव डा. कृष्णहरि पुस्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा राखिएको छ।

नेपाल ट्रस्टको कार्यालयमा कार्यरत प्रमिलादेवी शाक्य बज्राचार्यलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिव नियुक्त गरिएको छ भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरिएको छ।

त्यसैगरी, जल तथा ऊर्जा आयोगका सचिव दिनानाथ मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्रमा पठाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुरजकुमार वैद्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।

गण्डकी प्रदेशका प्रमुख सचिव डुण्डुराज घिमिरे निलम्बनमा रहेकाले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा राखिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कर छुटसम्बन्धी अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि घिमिरे निलम्बनमा परेका हुन्।

अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराललाई गण्डकी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डिल्लीराज शर्मालाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सरुवा भएका सबै सचिवहरूले सरुवापत्र बुझिसकेका छन्।

सरकारले कार्यसञ्चालन नियमावलीमार्फत मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा झारेपछि गाभिएका मन्त्रालयका सचिवहरूको जिम्मेवारी पुनः निर्धारण गरिएको हो। नाम परिवर्तन नभएका मन्त्रालयमा कार्यरत सचिवहरू भने सोही मन्त्रालयमा कायम राखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖