• Saturday 28th of November 2026

विवाद र झडपपछि रास्वपाका मधेश प्रदेशका सबै जिल्ला अधिवेशन स्थगित


  • धनकुटा खबर
  • .

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले मधेश प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि तत्कालका लागि स्थगित गरेको छ।

मंगलबार जारी सूचनामा आयोगले पार्टी विधान, २०७९ (तेस्रो संशोधनसहित) को दफा ४१ बमोजिम प्राप्त अधिकार प्रयोग गर्दै अधिवेशनको निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत सञ्चालन सुनिश्चित गर्न अधिवेशनसम्बन्धी सबै गतिविधि रोकिएको जनाएको छ।

आयोगका अनुसार प्रतिनिधि छनोट, निर्वाचन कार्यक्रम, उम्मेदवारी दर्ता, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित सम्पूर्ण गतिविधिमा यो निर्णय लागू हुनेछ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख पुष्पन केसी द्वारा हस्ताक्षरित सूचनामा अधिवेशन पुनः सञ्चालन हुने मिति, समय तथा संशोधित कार्यतालिका पछि औपचारिक रूपमा सार्वजनिक गरिने उल्लेख गरिएको छ।

पछिल्लो समय नेतृत्व चयनको विषयलाई लिएर मधेश प्रदेशअन्तर्गत विभिन्न जिल्लामा विवाद र झडपका घटना देखिएपछि आयोगले अधिवेशन प्रक्रिया स्थगित गर्ने निर्णय गरेको जनाएको छ।

आयोगले पार्टीका नेता, कार्यकर्ता, प्रतिनिधि तथा उम्मेदवारहरूलाई थप निर्देशन नआएसम्म संयमित रहन र आयोगको निर्णय पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖