काठमाडौँ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डीपी अर्यालबाट भएको एक शब्दगत त्रुटि चर्चाको विषय बनेको छ।
राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन तथा कार्यविभाजनसम्बन्धी पत्र सदनमा वाचन गर्ने क्रममा सभामुख अर्यालले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘प्रधानमन्त्री’ भनेर सम्बोधन गरेका हुन्।
बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पठाएको पत्र पढ्दै गर्दा ‘सम्माननीय राष्ट्रपति’ भन्नुपर्ने स्थानमा सभामुखले ‘सम्माननीय प्रधानमन्त्री’ उच्चारण गरेका थिए। उक्त त्रुटि तत्कालै सच्याइएको भए पनि त्यसको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेको छ।
संसदीय बैठकमा उच्च पदस्थ व्यक्तिहरूको नाम र पद उल्लेख गर्ने क्रममा यस्ता शब्दगत त्रुटि कहिलेकाहीँ हुने गरे पनि यस घटनाले सामाजिक सञ्जालमा चर्चा पाएको छ।
सभामुख अर्यालको उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न प्रतिक्रिया जनाइरहेका छन्।
