काठमाडौँ — प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले प्रतिनिधिसभा बैठकमा सुस्ताको सीमा विवाद र त्यहाँ देखिएको पछिल्लो अवस्थाबारे सरकारसँग जवाफ माग्दै रक्षामन्त्रीको खोजी गरेका छन्।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सुस्तामा भारतीय एसएसबीले नेपाली नागरिकलाई दु:ख दिएको भन्दै रक्षामन्त्रीको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरे। चैत १३ गते प्रधानमन्त्री बनेका बालेन्द्र शाह ले रक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका भए पनि संसद्मा उपस्थित नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
सभामुख डोलप्रसाद अर्याल लाई सम्बोधन गर्दै राईले भने, “प्रधानमन्त्रीज्युले सीमाबारे विवादित अभिव्यक्ति दिएपछि प्लेकार्ड लिएर उभिन थालेको आज ११ दिन भयो। उहाँ आउने संकेतसमेत देखिँदैन। नेपाल सरकारको रक्षामन्त्री अहिले को हुनुहुन्छ ? रक्षामन्त्रीलाई बोलाइदिन आग्रह गर्छु।”
राईले सुस्तामा भारतीय पक्षका सुरक्षाकर्मीले नेपाली नागरिकमाथि हप्कीदप्की गरेको र स्थानीय नेपालीहरू निहत्था रूपमा प्रतिरोध गरिरहेको देखिने भिडियो सार्वजनिक भएको उल्लेख गर्दै त्यसबारे सरकारको धारणा माग गरे। उनका अनुसार, प्रधानमन्त्री संसद्मा नआए पनि रक्षामन्त्रीले घटनाबारे जवाफ दिनुपर्छ।
उनले नेपाली सेनाको भूमिका सम्बन्धी प्रश्नसमेत उठाए। “हाम्रो नेपाली सेना सिमानामा जानै नहुने कुनै कसम खाएर बसेको हो ? सिमानाको अवलोकन गर्न पनि नजाने कुनै करार भएको हो भने त्यो सन्धि वा सम्झौता संसद्लाई देखाइनुपर्छ,” भन्दै उनले सीमा सुरक्षाको विषयमा सरकारको जवाफदेहिता आवश्यक रहेको बताए।
