काठमाडौं । अमरेश कुमार सिंहले सरकारले अघि बढाएको संविधान संशोधनको बहसमाथि कडा टिप्पणी गर्दै हालको राजनीतिक व्यवस्थामै संकट देखिएको बताएका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सिंहले संविधान संशोधनको बहसलाई यथार्थभन्दा बाहिरको विषय भएको दाबी गरे। उनका अनुसार वर्तमान संसदको संरचना र आवश्यक दुईतिहाइ समर्थनको अवस्था हेर्दा संविधान संशोधन सम्भव देखिँदैन।
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम साहप्रति लक्षित टिप्पणी गर्दै सिंहले उनीसँग संविधान संशोधन प्रक्रिया अघि बढाउने कुनै संवैधानिक अधिकार नभएको बताए। उनले संविधान संशोधन संसद र प्रदेशहरूको सहमतिबाट मात्र सम्भव हुने उल्लेख गरे।
सिंहले २०७२ सालको संविधानमा मूल समस्या नभएको जिकिर गर्दै समस्या नेतृत्वको नियत र कार्यशैलीमा रहेको बताए। उनले विगतका राजनीतिक अस्थिरता, संसद विघटन र शक्ति केन्द्रित प्रवृत्तिलाई संविधानभन्दा नेतृत्वको कमजोरीसँग जोडे।
उनले वर्तमान व्यवस्थामाथि नै प्रश्न उठाउँदै भने, “संविधान संशोधन हुनेवाला छैन, बरु व्यवस्था नै परिवर्तनको दिशातर्फ गइरहेको छ।” लोकतन्त्र र व्यवस्थालाई जोगाउन चाहनेहरूले वास्तविक समस्यामाथि बहस गर्नुपर्ने उनको धारणा थियो।
सिंहले संविधान संशोधनको बहसलाई मुख्य राजनीतिक, आर्थिक तथा सुशासनका मुद्दाबाट जनताको ध्यान मोड्ने प्रयासका रूपमा समेत व्याख्या गरे। उनका अनुसार अहिलेको बहस संवैधानिक प्रक्रिया र राजनीतिक यथार्थसँग मेल खाने खालको छैन।
उनको भनाइले संविधान संशोधनको विषयमा सरकार, राजनीतिक दल र विभिन्न सरोकारवालाबीच चलिरहेको बहसमा नयाँ विवाद र बहसको सुरुआत गराएको छ।
