काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को आफ्नो पहिलो खेलमा कतारले बलियो प्रतिद्वन्द्वी स्विट्जरल्यान्डसँग १–१ गोलको रोमाञ्चक बराबरी खेल्दै इतिहास रचेको छ । खेलको अन्तिम समयसम्म हार नजिक पुगेको कतारले नाटकीय पुनरागमन गर्दै विश्वकप इतिहासकै पहिलो अंक जोड्न सफल भएको हो ।
अमेरिकाको सान्ता क्लारामा नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा स्विट्जरल्यान्डले सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो । निर्धारित ९० मिनेटको खेल सकिएर थपिएको इन्जुरी समयको चौथो मिनेटमा कतारका डिफेन्डर बुआलेम खुखीले गोल गरेपछि खेल १–१ को बराबरीमा सकिएको हो । खुखीको यो गोल विश्वकप इतिहासमा कतारको लागि दोस्रो गोल समेत बनेको छ ।
यसअघि खेलको १७ औँ मिनेटमा स्विट्जरल्यान्डले पेनाल्टीमार्फत अग्रता लिएको थियो । ब्रेएल एम्बोलोले मिलाएको पासमा अघि बढेका रेमो फ्रुलेरलाई कतारी गोलकिपर महमुद अबुनादाले डि–बक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई ब्रेएल एम्बोलोले गोलमा परिणत गरेका थिए । पहिलो हाफमा निकै दबाब दिएको स्विट्जरल्यान्डले दोस्रो हाफमा रक्षात्मक खेल खेल्दा अन्तिम समयमा कतारले त्यसको फाइदा उठायो ।
सन् २०२२ को विश्वकपमा आयोजकको रूपमा डेब्यु गर्दा कतारले आफ्ना तीनवटै खेल हारेर शून्य अंकमा प्रतियोगिता टुङ्ग्याएको थियो । सो समयमा सेनेगलविरुद्ध मोहम्मद मुन्तरीले कतारका लागि पहिलो विश्वकप गोल गरेका थिए । आजको बराबरीसँगै कतारले विश्वकपमा आफ्नो पहिलो अंक जोड्दै इतिहास बनाएको छ । छनोट चरणमा ५ खेल हार्दा समेत उत्कृष्ट पुनरागमन गर्दै विश्वकप पुगेको कतारका लागि यो नतिजा निकै महत्त्वपूर्ण मानिएको छ ।
यो बराबरीपछि समूह ‘बी’ मा रहेका कतार र स्विट्जरल्यान्डले समान १–१ अंक बाँडेका छन् । तुलनात्मक रूपमा सहज मानिएको यस समूहमा क्यानडा र बोस्निया–हर्जेगोभिनाको समेत १–१ अंक रहेको छ ।
