काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय महाशाखा भक्तपुरले शिक्षक सरुवासम्बन्धी ३ बुँदे निर्देशन जारी गरेको छ।
महाशाखाले सोमबार देशभरका स्थानीय तहलाई पत्राचार गर्दै स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गरी पदपूर्ति नगर्न निर्देशन दिएको हो।
निर्देशनअनुसार शिक्षक सेवा आयोगमार्फत पदपूर्तिका लागि माग भइसकेका पदमा सरुवा गरेर रिक्त पद व्यवस्थापन गर्न नपाइने उल्लेख गरिएको छ।
यस्तै, खुद पुल दरबन्दी रहेका स्थानीय तहलाई भने सोही खुद पुल दरबन्दीअन्तर्गतका शिक्षक पदमा मात्र सरुवा गर्न महाशाखाले भनेको छ।
त्यसैगरी, ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाका लागि निवेदन दिएका सम्भाव्य उम्मेदवारहरूको हकमा बढुवाको नतिजा सार्वजनिक नभएसम्म सरुवा सहमति नदिन स्थानीय तहलाई निर्देशन दिइएको छ।
महाशाखाले शिक्षक व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र नीतिसम्मत बनाउन उक्त निर्देशन जारी गरिएको जनाएको छ।

