काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिकसँगै लियोनेल मेसीले अर्को ऐतिहासिक कीर्तिमान पनि बराबरी गरेका छन्।
मेसीले विश्वकपमा कुल १६ गोल पुर्याउँदै जर्मनीका महान् स्ट्राइकर मिरोस्लाभ क्लोजको नाममा रहेको सर्वाधिक विश्वकप गोलको कीर्तिमानसँग बराबरी गरेका हुन्।
छैटौँ विश्वकपमा खेलिरहेका मेसीको ह्याट्रिकले केवल अर्जेन्टिनाको जित मात्र सुनिश्चित गरेन, बरु व्यक्तिगत रूपमा पनि उनलाई फुटबल इतिहासको सबैभन्दा ठूलो उपलब्धिमध्ये एकसँग नजिक पुर्याइदिएको छ ।
अर्जेन्टिनाका लागि २००औँ खेल पूरा गर्नुका साथै लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबल र विश्वकप दुवैमा ऐतिहासिक कीर्तिमानहरू थपेका छन्।
छैटौँ पटक विश्वकपमा सहभागी हुने उनी पहिलो खेलाडी बनेका छन्। यसअघि कुनै पनि पुरुष खेलाडीले विश्वकपमा यति धेरै संस्करणमा सहभागिता जनाएको थिएन।
