• Tuesday 6th of October 2026

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन- निश्कल राई


  • धनकुटा खबर
  • .

काठमाडौं — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया किसान र उद्योगीहरूको समस्या समाधानमा सरकारले ध्यान नदिएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भारतले चिया निर्यातमा अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगी र किसानले उद्योग बन्द गरी ताला लगाउनुपरेको बताए। उनका अनुसार, इलाम क्षेत्रमा करिब तीन दिनदेखि चिया उद्योग प्रभावित भएका छन्।

राईले भने, “यति संवेदनशील विषयमा सरकारको ध्यान पटक्कै पुगेको छैन। प्रधानमन्त्रीज्यू अन्य मन्त्रीहरूलाई लिएर देश बनाउँदै हुनुहुन्छ, सामाजिक सञ्जाल हेरेर मात्र थाहा पाएको जस्तो देखिन्छ।”

उनले प्रधानमन्त्रीले चिया पसलमा गएर चिया पिउन समय निकाल्ने तर वार्षिक अर्बौं रुपैयाँको चिया निर्यात प्रभावित हुँदा समाधानमा चासो नदिएको टिप्पणी पनि गरे।

उनका अनुसार भारतीय चिया बोर्डले नयाँ मापदण्ड लागू गरेपछि परीक्षण रिपोर्ट आउन दुई साताभन्दा बढी लाग्ने र त्यस अवधिमा चिया नष्ट गर्नुपर्ने अवस्था आएको छ। यसले सूर्योदय नगरपालिकासहित इलामका धेरै उद्योग बन्द भएको उनले दाबी गरे।

राईले चिया उद्योग बन्द हुँदा हरियो चिया खेतमै खेर गएको, श्रमिकहरूको रोजगारी गुमेको र उद्यमीहरू बैंक ऋण तिर्न नसक्ने अवस्थामा पुगेको बताए।

उनले सरकारले चिया परीक्षण प्रयोगशाला विस्तार, दीर्घकालीन निर्यात नीति, र वैकल्पिक बजार सुनिश्चित गर्नुपर्ने माग गरे।

साथै, उनले आफूले पटक–पटक संसद् र विभिन्न सरकारी फोरममा यो समस्या उठाउँदै आएको उल्लेख गर्दै सरकारसँग तत्काल पहल गर्न आग्रह गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖