काठमाडौँ, असार ३ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पाँचथरको एक विद्यालयमा कार्यरत बालविकास सहजकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित श्री जय भवानी माध्यमिक विद्यालय मा कार्यरत बिना कुमारी राईविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।
अख्तियारका अनुसार राईले सरकारी सेवामा नियुक्ति लिन नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेकी थिइन्। अनुसन्धानका क्रममा उनले बालविकास सहजकर्ताको राष्ट्रसेवक पदमा नियुक्ति लिन तथा सरकारी सेवा–सुविधा प्राप्त गर्न कक्षा ८ र एसएलसीको लब्धाङ्क पत्र तथा चारित्रिक प्रमाणपत्र नक्कली रूपमा तयार गरी पेस गरेको खुलेको जनाएको छ।
राईले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी जागिर खाइरहेको भन्दै अख्तियारमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा विस्तृत अनुसन्धान गर्दा आरोप पुष्टि भएपछि बुधबार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपाने ले जानकारी दिएका छन्।
प्रवक्ता न्यौपानेका अनुसार अनुसन्धानबाट प्रतिवादीले झुट्टा तथा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरी सरकारी सेवा–सुविधा र लाभसमेत लिएको पुष्टि भएको छ।
आयोगले राईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ उपदफा (१) बमोजिम कसुर गरेको ठहर गर्दै सोही ऐनअनुसार कैद र जरिवाना सजायको मागदाबीसहित अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।
