• Monday 5th of October 2026

जारी विश्वकपमा आत्मघाती गोलको सङ्ख्या ७ पुग्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । फिफा विश्वकप २०२६ मा खेलाडीहरूको सानो असावधानी आफ्नै टोलीका लागि निकै महँगो साबित भइरहेको छ ।

शनिबार बिहान अमेरिका र अस्ट्रेलियाबिच सिएटलमा जारी खेलमा अस्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसले ११ औँ मिनेटमा आफ्नै जाली चुमाएसँगै यस विश्वकपमा आत्मघाती गोलको सङ्ख्या सात पुगेको छ । अहिले मैदानमा अमेरिका २–० को अग्रताका साथ जिततर्फ अघि बढिरहँदा विश्वकपको यो तथ्याङ्कले सबैको ध्यान खिचेको छ ।

यस विश्वकपमा विपक्षीको गल्तीबाट फाइदा पाउने टोलीमा अमेरिका अगाडि देखिएको छ । यसअघि समूह ‘डी’ अन्तर्गतकै खेलमा पाराग्वेका डेमियन बोबाडिलाले पनि अमेरिकाविरुद्ध आत्मघाती गोल गरेका थिए । त्यसैगरी, समूह ‘बी’ मा क्यानडा र कतारबिचको खेलमा कतारका मोहम्मद मानाईले ७५ औँ मिनेटमा गरेको गल्ती र मिरो मुहेइमको आत्मघाती प्रहारले प्रतियोगितामा थप चर्चा पाएको थियो । यस्तै बिर्सनलायक गल्ती इजिप्टका मोहम्मद हानीले बेल्जियमविरुद्ध र इराकका आयमेन हुसेनले नर्वेविरुद्धको खेलमा गरेका थिए ।

प्रतियोगितामा पहिलो पटक सहभागी भएको जोर्डनका लागि पनि पहिलो खेल सुखद रहेन । अस्ट्रियाविरुद्धको उद्घाटन खेलमा जोर्डनका यजान अल–अरबले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । सन् २०१८ को रुस विश्वकपमा हालसम्मकै सबैभन्दा धेरै १२ वटा आत्मघाती गोल भएको कीर्तिमान छ । तर, अहिले २९ औँ खेल जारी रहँदासम्म सातवटा आत्मघाती गोल भइसकेकाले यस पटक उक्त रेकर्ड तोडिने सम्भावना बढेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖