• Sunday 4th of October 2026

केप भर्डेले रच्यो इतिहास: उरुग्वे २–२ को बराबरीमा रोकियो


  • धनकुटा खबर
  • .

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को दोस्रो खेलमा केप भर्डे र उरुग्वेले २–२ गोलको सनसनीपूर्ण बराबरी खेल्दै अंक बाँडेका छन् । मियामी स्टेडियममा सोमबार बिहान भएको यस खेलमा पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले जुझारु प्रदर्शन गर्दै दक्षिण अमेरिकी महारथी उरुग्वेको जितको योजनालाई विफल तुल्याइदिएको छ ।

खेलको २१ औँ मिनेटमा केप भर्डेका मिडफिल्डर केभिन पिनाले करिब २५ यार्ड टाढाबाट प्रहार गरेको सानदार फ्री–किक सिधै गोलमा परिणत भएको थियो । यो गोल केप भर्डेको विश्वकप इतिहासकै पहिलो गोल समेत बन्यो । १–० ले पछि परेको उरुग्वेले पहिलो हाफको अन्तिम समयमा घातक पुनरागमन गर्‍यो । ४४ औँ मिनेटमा म्याक्सिमिलियानो आराउजो र पहिलो हाफको अतिरिक्त समयमा अगस्टिन कानोबियोले गोल गरेपछि पहिलो हाफमा उरुग्वे २–१ ले अघि रह्यो ।

दोस्रो हाफमा केप भर्डेले हार मानेन र आक्रामक खेल जारी राख्यो । खेलको ६१ औँ मिनेटमा मिडफिल्डर हेलियो वरेलाले उत्कृष्ट गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले जितका लागि प्रयास गरे पनि थप गोल हुन सकेन ।

यो बराबरीसँगै समूह ‘एच’ मा स्पेन २ खेलबाट ४ अंकका साथ शीर्ष स्थानमा कायम छ । उरुग्वे र केप भर्डेले २–२ खेलबाट समान २–२ अंक जोडेका छन् भने साउदी अरेबिया १ अंकका साथ तेस्रो स्थानमा छ । स्पेनलाई पहिलो खेलमा बराबरीमा रोकेर चर्चामा आएको केप भर्डेले आज उरुग्वेसँग अंक खोस्दै नकआउट चरण प्रवेशको सम्भावनालाई जीवितै राखेको छ ।

अर्काे तर्फ केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्रालले खेलको पाँचौँ मिनेटमै पहेँलो कार्ड खाएका कारण उनले अब साउदी अरेबियासँगकाे महत्त्वपूर्ण खेल गुमाउने भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖