• Wednesday 7th of October 2026

पूर्वमन्त्री तथा कांग्रेस नेता खरेलको पार्थिव शरीर सानेपामा


  • धनकुटा खबर
  • .

काठमाडौं, असार ७ — पूर्वमन्त्री तथा नेपाली कांग्रेस का नेता राजेन्द्र खरेल को पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिएको छ।

दम रोगबाट पीडित ८० वर्षीय खरेलको आइतबार राति काठमाडौंको फ्रन्टलाइन अस्पताल मा उपचारका क्रममा राति पौने १० बजे निधन भएको हो।

वि.सं. २००३ सालमा काभ्रेको खरेल थोकमा जन्मिएका खरेलको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्मा ले जानकारी दिएका छन्।

पार्टी सभापति गगन थापा ले पार्टी कार्यालय पुगेर श्रद्धाञ्जली अर्पण गरेपछि पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने कार्यक्रम रहेको छ। खरेलका पुत्र तथा पाँचखाल नगरपालिका का नगरप्रमुख महेश खरेल ले दिउँसो १ बजे आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिएका छन्।

खरेलले २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा जनआन्दोलन २०६२/०६३ मा सक्रिय भूमिका निर्वाह गरेका थिए।

स्वर्गीय खरेलले बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह जस्ता शीर्ष नेतासँग सहकार्य गरेका थिए। उनी २०५६ सालमा काभ्रेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। त्यसपछि उनले शिक्षा राज्यमन्त्री तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

पार्टी कार्यालय निर्माण नभएको समयमा आफ्नै घर उपलब्ध गराएर कांग्रेसको संगठन विस्तारमा समेत उनले महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖