काठमाडौँ । विश्व फुटबलका दुई फरक पुस्ताका प्रतिभा लियोनल मेस्सी र लामिन यमालबिच २० वर्षको अन्तरालमा एउटा पत्याउनै नसकिने र दुर्लभ संयोग मिलेको छ।
फुटबल इतिहासमा यस्ता संयोगहरू कमै मात्र देख्न पाइन्छ, जहाँ एउटा खेलाडीले आफ्ना आदर्शको इतिहासलाई दुरुस्तै दोहोर्याउँछ।
अर्जेन्टिनी लिजेन्ड लियोनल मेस्सीले सन् २००६ को विश्वकपमा १८ वर्ष ११ महिनाको उमेरमा मैदान उत्रिँदै विश्वकपमा आफ्नो पहिलो गोल गरेका थिए। त्यस बेला उनले १९ नम्बरको जर्सी लगाएका थिए भने उक्त गोल उनले आफ्नो दायाँ खुट्टाबाट गरेका थिए।
ठिक २० वर्षपछि स्पेनका युवा सनसनी लामिन यमाले सन् २०२६ को विश्वकपमा सोही इतिहास दोहोर्याएका छन्। यमाले पनि १८ वर्ष ११ महिनाकै उमेरमा, १९ नम्बरकै जर्सी लगाएर, आफ्नो दायाँ खुट्टाकै प्रयोग गर्दै विश्वकपमा पहिलो गोल दर्ता गरेका हुन्।
लामिन यमालका लागि लियोनल मेस्सी सधैँ आदर्श खेलाडी रहँदै आएका छन्। यस ऐतिहासिक गोलसँगै यमाले आफ्ना आदर्श मेस्सीको भन्दा एउटा अर्को कीर्तिमान समेत आफ्नो नाममा गरेका छन्। उनले मेस्सीले गोल गरेको उमेरभन्दा १४ दिन कम उमेरमै विश्वकपमा गोल गर्न सफल भएका हुन्।
यससँगै यमाल विश्वकप इतिहासमा गोल गर्ने आठौँ सबैभन्दा कान्छो खेलाडी समेत बनेका छन्।
