काठमाडौं, असार ८ — नदी किनारका बस्ती हटाइएपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा अस्थायी रूपमा आश्रय लिइरहेका सुकुमबासी तथा भूमिहीन परिवारलाई पाँच दिनभित्र भवन खाली गर्न ताकेता गरिएको छ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति ले सोमबार सूचना जारी गर्दै आगामी शुक्रबारसम्म स्व–व्यवस्थापन गरी होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको हो।
समितिका आयोजना निर्देशक मचाकाजी महर्जन का अनुसार होल्डिङ सेन्टरमा लामो समयसम्म बसोबास गर्दा त्यहाँ आश्रित परिवारको दैनिक जीवन अस्तव्यस्त बनेको छ।
उनका अनुसार होल्डिङ सेन्टर अस्थायी व्यवस्थापनका लागि मात्र निर्माण गरिएको र हाल मनसुन सुरु भइसकेकाले वर्षायाममा बाढी तथा डुबानको उच्च जोखिम रहेको छ। विशेष गरी कीर्तिपुर स्थित होल्डिङ सेन्टर खोला किनार नजिकै रहेकाले मानवीय जोखिम बढ्न सक्ने भन्दै वर्षायामअघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक भएको समितिको भनाइ छ।
पुनर्स्थापना र राहत प्याकेज
समितिले विस्थापित परिवारका लागि राहत तथा पुनर्स्थापना प्याकेजसमेत अघि सारेको जनाएको छ।
यसअन्तर्गत होल्डिङ सेन्टरभित्र तथा बाहिर रहेका विस्थापित परिवारलाई कोठा खोज्न र प्रारम्भिक व्यवस्थापनका लागि प्रतिपरिवार एकमुष्ट २५ हजार रुपैयाँ पुनर्स्थापना खर्च उपलब्ध गराइनेछ।
समितिका अनुसार आवश्यक बजेट प्राप्त भइसकेको छ र चालु आर्थिक वर्षभित्र अर्थात् असार १५ देखि २० गतेभित्र रकम वितरण गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ।
त्यस्तै, वास्तविक सुकुमबासी तथा घरबारविहीन प्रमाणित परिवारलाई छुट्टै कोठा भाडामा लिन मासिक १५ हजार रुपैयाँका दरले किस्ताबन्दी रूपमा भाडा सहयोग उपलब्ध गराइनेछ। यो सहयोग राष्ट्रिय भूमि आयोग ले स्थायी व्यवस्थापनको टुंगो नलगाएसम्म जारी रहने समितिले जनाएको छ।
समितिका अनुसार हाल काठमाडौं उपत्यकाका ६ वटा होल्डिङ सेन्टरमा ३८८ परिवार आश्रित छन्। राहत वितरणलाई तीव्र बनाउन ३ देखि ४ वटा विशेष टोली परिचालन गरिएको छ।
राहत प्राप्त गर्न प्रभावित परिवारले बैंक खाता नम्बर सहितको निवेदन समितिमा बुझाउनुपर्नेछ। निवेदन प्राप्त भएपछि रकम बैंक खातामार्फत सिधै उपलब्ध गराइने समितिले जनाएको छ।
