• Tuesday 6th of October 2026

रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?


  • धनकुटा खबर
  • .

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको राजनीतिक संस्कृति परिवर्तन गर्ने लक्ष्य लिएको जनाएको छ।

पार्टीको पहिलो महाधिवेशनमा मंगलबार प्रस्तुत राजनीतिक प्रतिवेदनमा सभापति रवि लामिछाने ले रास्वपाको संसदीय नीति दीर्घकालीन राष्ट्रिय मुद्दाहरूमा आम सहमति खोज्ने रहेको बताएका हुन्।

प्रतिवेदनमा लामिछानेले विगतमा राजनीतिलाई ‘मित्र र शत्रु’ को दृष्टिकोणबाट हेरिएको उल्लेख गर्दै राष्ट्र निर्माणको राजनीतिमा राजनीतिक दलहरू शत्रु नभई विचार, कार्यक्रम र प्राथमिकतामा फरक भएका प्रतिस्पर्धी मात्र भएको बताएका छन्।

उनले लोकतन्त्रमा चुनावी प्रतिस्पर्धाको अर्थ राष्ट्रका आधारभूत सवालहरूमा मतभेद हुनु नभएको उल्लेख गर्दै देशका वास्तविक साझा शत्रु गरिबी, बेरोजगारी, भ्रष्टाचार, कुशासन, अशिक्षा र कमजोर स्वास्थ्य सेवा रहेको बताएका छन्।

त्यसैगरी युवाको विदेश पलायन, आर्थिक परनिर्भरता, उत्पादनहीन अर्थतन्त्र, राज्यप्रतिको घट्दो विश्वास, सामाजिक विभाजन र असहिष्णुतालाई पनि देशका प्रमुख चुनौतीका रूपमा औँल्याएका छन्।

सभापति लामिछानेले सत्ता भागबण्डाका कारण ‘सर्वदलीय सहमति’ को अवधारणा बदनाम भएको उल्लेख गर्दै राष्ट्र निर्माणका सवालमा त्यसको गरिमा पुनःस्थापित गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार, उत्पादन र रोजगारी, सुशासन, संविधान तथा निर्वाचन प्रणाली सुधार, परराष्ट्र नीति, राष्ट्रिय हित, जलवायु परिवर्तन र प्राकृतिक स्रोतको उपयोगजस्ता विषय राष्ट्रिय सहमतिका आधारमा अघि बढाउनुपर्ने बताएका छन्।

प्रतिवेदनमा सडक, रेल, जलविद्युत, सिँचाइ, खानेपानी, डिजिटल पूर्वाधार तथा राष्ट्रिय गौरवका आयोजनाहरूमा साझा राष्ट्रिय धारणा निर्माण गर्न र सरकार परिवर्तन भए पनि राज्यको दीर्घकालीन नीति तथा राष्ट्रिय लक्ष्य परिवर्तन नहुने प्रणाली विकास गर्नुपर्नेमा जोड दिइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖