• Tuesday 6th of October 2026

रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रिया ढिलाइ हुने


  • धनकुटा खबर
  • .

चितवन, असार ९ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत बिहान ९ बजेदेखि सुरु हुने भनिएको मतदान प्रक्रिया लम्बिने भएको छ।

९९ जना केन्द्रीय सदस्य पदका लागि हुने निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम सूची (सर्ट लिस्ट) तयार हुन नसक्दा मतदान प्रक्रिया प्रभावित भएको हो।

प्राविधिक संयोजक नवराज पाण्डे का अनुसार खुला र समावेशी क्लस्टर मिलाएर भोटिङ मेसिनमा सेटिङ गर्नुपर्ने भए पनि निर्वाचन आयोगबाट उम्मेदवारहरूको अन्तिम सूची प्राप्त नभएकाले प्रक्रिया अघि बढ्न सकेको छैन।

उनका अनुसार प्राविधिक टोलीले बिहान ४ बजेसम्म काम गरेर आवश्यक तयारी पूरा गरिसकेको छ। आयोगबाट उम्मेदवारहरूको सूची प्राप्त भएलगत्तै क्लस्टरका आधारमा अन्तिम सेटिङ मिलाइने छ।

पाण्डेका अनुसार एक प्रतिनिधिलाई मतदान गर्न कम्तीमा २० मिनेट लाग्ने अनुमान गरिएको छ। ९९ केन्द्रीय सदस्य पदका लागि ४०० भन्दा बढी उम्मेदवारी परेको र मतदानमा करिब ४ हजार ५०० प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ। सबै प्रतिनिधिले मतदान गरेमा प्रक्रिया पूरा गर्न कम्तीमा १५ घण्टादेखि बढीमा २० घण्टासम्म लाग्न सक्ने जनाइएको छ।

महाधिवेशनमा मतदानका लागि स्वदेशमा विद्युतीय भोटिङ मेसिन र प्रवासमा मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरिएको छ।

यसअघि पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। पहिलो चरणको मतदान सम्पन्न भएपछि अन्य पदाधिकारीको निर्वाचन प्रक्रिया अघि बढाइने जनाइएको छ।

रास्वपाको विधानअनुसार १९ पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय समितिको व्यवस्था रहेको छ। मतदानका लागि ‘राम–लक्ष्मण’ भोटिङ मेसिन प्रयोग गरिएको छ भने मतदान स्थलमा ८० वटा मेसिन तयारी अवस्थामा राखिएको प्राविधिक टोलीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖