चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ९९ केन्द्रीय सदस्य पदका लागि करिब ४ सय जनाको उम्मेदवारी दर्ता भएको छ।
निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार उम्मेदवारहरूको अन्तिम संख्या भने अझै निश्चित भइनसकेको भए पनि करिब ४ सय जनाको मनोनयन दर्ता भएको प्रारम्भिक विवरण रहेको छ।
उनले दर्ता भएका उम्मेदवारहरूको सूची अन्तिम रूप दिने कार्य भइरहेको जानकारी दिएका छन्। “केन्द्रीय सदस्यका लागि करिब चार सय जनाको मनोनयन दर्ता भएको छ। दर्ता भएकाहरूको संख्या निश्चित गर्न सूची तयार गर्दैछौं,” उनले बताए।
आयोगका अनुसार बिहान ९ बजेदेखि मतदान सुरु गर्ने योजना भए पनि प्राविधिक तयारीका कारण बिहान साढे १०:३० बजेतिर प्रारम्भिक सूची सार्वजनिक गर्ने तयारी गरिएको छ।
निर्वाचनमा ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरिनेछ। एक जनाले मतदान प्रक्रिया १५ देखि २० मिनेटभित्र सम्पन्न गर्न सक्ने व्यवस्था मिलाइएको छ।
निर्वाचन आयोगले मतदान सकिएको करिब एक घण्टाभित्रै नतिजा सार्वजनिक हुने जनाएको छ।
