काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा केन्द्रीय सदस्य चयनका लागि आज हुने निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। ९९ केन्द्रीय सदस्य पदका लागि ४ सयभन्दा बढीले उम्मेदवारी दिएका छन्।
हालै विधान संशोधन गर्दै रास्वपाले केन्द्रीय समिति सदस्य संख्या १५८ पुर्याएको छ। त्यसमध्ये ९९ जना निर्वाचनमार्फत चयन हुनेछन् भने ५१ जना सभापतिले मनोनित गर्ने व्यवस्था छ। बाँकी ७ जना प्रदेश सभापति पदेन रूपमा केन्द्रीय समितिमा रहनेछन्।
पार्टीले विभिन्न समूह र राजनीतिक पृष्ठभूमिबाट आएका नेताहरूलाई समेट्ने उद्देश्यले मनोनयनको व्यवस्था राखेको बताइएको छ। विशेषगरी बालेन्द्र शाह (बालेन) निकट समूह तथा अन्य समूहहरूबाट आएका नेताहरूलाई व्यवस्थापन गर्न सभापतिले मनोनयनमार्फत समेट्ने तयारी छ।
यसैबीच, रास्वपा महामन्त्री भूपदेव शाहले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छैनन्। उनलाई सभापतिले मनोनित गर्ने तयारी भएको स्रोतले जनाएको छ। हाल उनी महामन्त्रीमा पुनः दोहोरिने चाहनामा छन्।
त्यस्तै, हाल गृहमन्त्री रहेका सुधन गुरुङले पनि निर्वाचनमा उम्मेदवारी दिएका छैनन् र उनी पनि मनोनयनमार्फत केन्द्रीय समितिमा आउने सम्भावना छ।
प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहसँग निकट मानिने भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले पनि उम्मेदवारी दिएका छैनन्। उनी उपसभापतिमा मनोनित हुने आकांक्षी रहेको बताइएको छ।
स्रोतका अनुसार बालेन समूहबाट समायोजन भएका २६ जनामध्ये केही सांसद तथा मन्त्रीहरूले मात्र उम्मेदवारी दिएका छन् भने बाँकीलाई पनि मनोनयनमार्फत समेटिने तयारी छ।
समग्रमा, रास्वपाको आन्तरिक निर्वाचनले नेतृत्व चयनसँगै पार्टीभित्र विभिन्न समूहहरूको शक्ति सन्तुलन पनि प्रतिबिम्बित गर्ने देखिएको छ।
