• Sunday 4th of October 2026

४ पटकको विश्व विजेता जर्मनीलाई इक्वेडरको झट्का, हारका बाबजुद जर्मनी र आइभोरी कोस्ट अन्तिम ३२ मा


  • धनकुटा खबर
  • .

काठमाडौँ । जारी फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को अन्तिम चरणका खेलहरूमा निकै ठुलो उलटफेर देखिएको छ ।

न्यु जर्सीको इस्ट रदरफोर्डमा भएको रोमान्चक खेलमा ४ पटकको पूर्व विश्वविजेता जर्मनी दक्षिण अमेरिकी टोली इक्वेडरसँग २–१ गोल अन्तरले स्तब्ध बनेको छ । खेलको दोस्रो मिनेटमै लेरोय सानेको गोलमार्फत अग्रता लिएको जर्मनीले उक्त अग्रतालाई अन्तिमसम्म जोगाउन सकेन । नवौँ मिनेटमा इक्वेडरका निल्सन एङ्गुलोले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए भने ७७औँ मिनेटमा गोन्जालो प्लाटाले निर्णायक गोल गर्दै जर्मनीविरुद्ध ऐतिहासिक जित सुनिश्चित गरे ।

हारका बाबजुद जर्मनी ६ अंकसहित समूह विजेताका रूपमा विश्वकपको अन्तिम ३२ अर्थात् नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ । यसअघिका दुई खेलमा कुरासाओलाई ७–१ र आइभोरी कोस्टलाई २–१ ले हराएको जर्मनीले बलियो गोल अन्तरका आधारमा समूहमा शीर्ष स्थान कायम राखेको हो । इक्वेडरले जर्मनी जस्तो महारथी टोलीलाई हराएर ४ अंक जोडे पनि समूहको तेस्रो स्थानमा खुम्चिनु परेको छ, जसका कारण उसको अघिल्लो चरणको यात्रा अन्य समूहको नतिजा र उत्कृष्ट तेस्रो टोलीको समीकरणमा निर्भर रहने देखिएको छ ।

यसैगरी फिलाडेल्फियामा भएको अर्को खेलमा आइभोरी कोस्टले कुरासाओलाई २–० ले पराजित गर्दै नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको छ । आइभोरी कोस्टका लागि निकोलस पेपेले दुवै हाफमा एक–एक गोल गर्दै टोलीलाई स्पष्ट ३ अंक दिलाएका हुन् । यो जितसँगै आइभोरी कोस्टले पनि जर्मनी समान ६ अंक जोडेको छ, तर गोल अन्तरमा पछि पर्दै समूह उपविजेताका रूपमा अन्तिम ३२ मा पुगेको छ । यस समूहबाट १ अंक मात्र जोडेको कुरासाओ भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖