• Tuesday 6th of October 2026

रास्वपा पदाधिकारी चयनका लागि मतदान सम्पन्न, नतिजा छिट्टै सार्वजनिक हुने


  • धनकुटा खबर
  • .

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी चयनका लागि भएको दोस्रो चरणको मतदान सम्पन्न भएको छ। उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि मतदान गरिएको हो।

रास्वपा निर्वाचन आयोगका अनुसार मतदानका लागि साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको थियो। समय सकिएपछि हलको ढोका बन्द गरिएको भए पनि भित्र प्रवेश गरिसकेकालाई मतदान गर्न दिइएको आयोगले जनाएको छ।

आयोगका अनुसार पदाधिकारी निर्वाचनमा करिब १,२०० देखि १,३०० मत खसेको अनुमान गरिएको छ। ८० वटा मतदान मेसिनबाट तथ्यांक संकलन गर्न समय लाग्ने भएकाले अन्तिम संख्या यकिन गर्न बाँकी रहेको बताइएको छ।

निर्वाचन आयोगले करिब डेढ घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ। मतगणना सकिएलगत्तै नतिजा घोषणा गरिने र नवनिर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरूको शपथग्रहण कार्यक्रम समेत सोही दिन हुने रास्वपाले जनाएको छ।

महाधिवेशन आयोजक समितिका अनुसार नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम आज साँझ ६ः३० बजे महाधिवेशन स्थलको हलमै आयोजना गरिनेछ। सबै निर्वाचित पदाधिकारीलाई कार्यक्रममा अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ।

आइतबार उद्घाटन भएको महाधिवेशन तीन दिनमा सक्ने लक्ष्य राखिएको भए पनि निर्वाचन प्रक्रियाका कारण ६ दिनसम्म लम्बिएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖