काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्ने बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा देखिएको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढे पनि अब क्रमशः मूल्य घट्ने संकेत देखिएको बताएका हुन्।
अर्थमन्त्री वाग्लेले इन्धनको मूल्यवृद्धिले आम उपभोक्तामाथि परेको भार कम गर्न सरकारले विभिन्न राहतका उपाय अवलम्बन गरेको जानकारी दिए।
उनले भने, “म अर्थमन्त्री भएको दुई हप्ताभित्रै दफा १८ को व्यवस्था टेकेर डिजेल, पेट्रोल र मट्टितेलको पैठारीमा लाग्ने भन्सार महसुल तथा डिजेल र पेट्रोलमा लाग्ने पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिएका छौं।”
नेपालले भारतीय आयल निगममार्फत इन्धन आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि त्यसको प्रभाव नेपालमा पर्न केही समय लाग्ने उनले स्पष्ट पारे।
अर्थमन्त्री वाग्लेले सरकारले उपभोक्तालाई राहत दिने विषयमा निरन्तर ध्यान दिइरहेको समेत बताएका छन्।
