• Tuesday 6th of October 2026

आगोसँग खेल्ने काम नगर्न रास्वपालाई चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीयताको सन्दर्भमा अघि सारेको पछिल्लो प्रस्तावलाई ‘अवसरवादी’ र ‘असान्दर्भिक’ भन्दै आलोचना गरेका छन्।

आइतबार सङ्घीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहेका पुनले रास्वपाको पछिल्लो राजनीतिक व्यवहारले जनमतको अपमान गरेको आरोप लगाए।

उनले निर्वाचनका बेला र विभिन्न प्रदेशमा पुगेर सङ्घीयता सुदृढ गर्ने प्रतिबद्धता जनाउने तर पछि महाधिवेशनमार्फत प्रदेश संरचना खारेजीको प्रस्ताव ल्याउनु जनतामाथिको धोका भएको टिप्पणी गरे।

पुनले रास्वपाभित्र वैचारिक स्पष्टताको अभाव रहेको दाबी गर्दै सभापति र उपसभापतिको धारणा विपरीत हुनु पार्टीभित्र गम्भीर वैचारिक द्वैधताको संकेत भएको बताए।

सङ्घीयता र लोकतन्त्र हजारौँको बलिदानबाट स्थापित भएको उल्लेख गर्दै उनले यस्ता विषयमा खेलाँची नगर्न चेतावनी पनि दिए।

उनका अनुसार प्रदेश सभा खारेज गर्नुको अर्थ पुरानै एकात्मक शासन प्रणालीतर्फ फर्किनु हो, जसले सङ्घीयताको मूल मर्मलाई कमजोर बनाउँछ।

पुनले रास्वपाको कतिपय अभिव्यक्ति र व्यवहारले लोकप्रियतावाद मात्र झल्काउने र नयाँ राजनीतिक संस्कार निर्माणमा अपरिपक्वता देखिएको टिप्पणीसमेत गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖