• Tuesday 6th of October 2026

यी जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह


  • धनकुटा खबर
  • .

काठमाडौं । देशभरका साना तथा सहायक नदीहरूमा पानीको बहाव बढ्ने र आकस्मिक बाढी आउन सक्ने सम्भावना देखिएको छ। बाढी पूर्वानुमान महाशाखाले आज जारी गरेको बुलेटिनमा ३४ भन्दा बढी जिल्लामा मध्यम स्तरको बाढी जोखिम रहेको जनाएको छ।

महाशाखाका अनुसार झापा, इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, लमजुङ र चितवनका साना नदी तथा खोलाहरूमा बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना छ।

त्यसैगरी कास्की, पाल्पा, स्याङ्जा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, रुकुम पश्चिम, बैतडी, दार्चुला, डोटी, डडेल्धुरा, अछाम तथा आसपासका जिल्लामा बहने साना नदी तथा खोलाहरूमा पनि आकस्मिक बाढीको जोखिम रहेको जनाइएको छ।

महाशाखाले भोलि र पर्सि पनि बाढीको जोखिम कायम रहने जनाएको छ। विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही साना नदीहरूमा समेत बाढीको जोखिम रहने महाशाखाको भनाइ छ।

यद्यपि, देशका प्रमुख तथा ठूला नदीहरूको बहाव हाल सामान्य अवस्थामा रहेको महाशाखाले जनाएको छ। आज बिहान गरिएको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको छ। कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि सुरक्षित अवस्थामा रहेको महाशाखाले जानकारी दिएको छ।

महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन, अनावश्यक रूपमा नदी तथा खोलामा नजान र स्थानीय प्रशासनले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖