• Tuesday 6th of October 2026

गृहमन्त्रीको ‘उदाहरणीय’ कदम: आफ्नै गाडीको कालो सिसा हटाउन निर्देशन


  • धनकुटा खबर
  • .

काठमाडौं । सार्वजनिक तथा निजी सवारीसाधनमा गैरकानुनी रूपमा जडान गरिने कालो सिसाविरुद्धको अभियानलाई कडाइका साथ अघि बढाउन गृहमन्त्री सुधन गुरुङले निर्देशन दिएका छन्।

सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षणका क्रममा उनले कानुन सबैका लागि समान हुनुपर्ने भन्दै आफ्नै प्रयोगमा रहेको गाडीको कालो सिसासमेत हटाउन निर्देशन दिएका हुन्।

निरीक्षणका क्रममा ट्राफिक प्रहरी अधिकारीहरूलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले भने, “नियम सर्वसाधारणलाई मात्र होइन, मन्त्रीलाई पनि लाग्नुपर्छ। मेरो गाडीमा जडान भएको कालो सिसा पनि तुरुन्तै हटाउनुस्।”

गृहमन्त्रीको निर्देशनपछि ट्राफिक प्रहरीले उनको प्रयोगमा रहेको सवारी साधनको कालो सिसा हटाउने प्रक्रिया सुरु गरिसकेको छ। यसअघि उच्चपदस्थ पदाधिकारीहरूले प्रयोग गर्ने सरकारी सवारीमा सुरक्षाका नाममा कालो सिसा राख्ने प्रचलन रहे पनि मन्त्री गुरुङ प्रायः निजी गाडी प्रयोग गर्ने गरेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले असार १४ गतेदेखि उपत्यकामा चल्ने सार्वजनिक तथा निजी सवारीसाधनमा जडान गरिएका कालो सिसा तथा स्टिकर हटाउने विशेष अभियान सञ्चालन गरिरहेको छ।

प्रहरीका अनुसार अभियानलाई दुई चरणमा विभाजन गरिएको छ। पहिलो चरणमा सवारीसाधनका सिसामा पछि थपिएका (मोडिफाइड) कालो स्टिकर तत्काल हटाउने काम भइरहेको छ भने दोस्रो चरणमा कम्पनी वा फ्याक्ट्रीबाटै जडान भएर आएका टिन्टेड ग्लास सम्बन्धी कानुनी तथा प्राविधिक व्यवस्थापनका लागि निर्णय लिने तयारी भइरहेको छ।

कतिपय आधुनिक र महँगा सवारीसाधनमा कम्पनीबाटै हल्का कालो सिसा जडान भएर आउने भएकाले त्यसको कार्यान्वयनमा केही प्राविधिक चुनौती देखिएको ट्राफिक प्रहरीले जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेश सुवेदीका अनुसार केही सवारीमा कम्पनीकै तर्फबाट टिन्टेड ग्लास जडान भएकाले त्यसबारे विक्रेताहरूसँग छलफल भइरहेको छ।

सुरक्षा, पारदर्शिता र सडक अनुशासन कायम गर्न यो अभियानलाई गृहमन्त्रीको व्यक्तिगत अग्रसरताले थप बल पुगेको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖