• Tuesday 6th of October 2026

पार्टी एकता हुँदैन :ओली


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकता गरी संयुक्त सङ्घर्षमा जानुपर्ने बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित नेकपा (एमाले) राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अपहरित लोकतन्त्रलाई पुनः स्थापित गर्न संयुक्त संघर्ष आवश्यक रहेको बताएका हुन्।

“देशमा गरिएको वितण्डाविरुद्ध रहेका सबै लोकतन्त्रवादी, वामपन्थी र देशभक्तहरूबीच कार्यगत एकता गरी संयुक्त सङ्घर्षमा जानुपर्छ,” अध्यक्ष ओलीले भने।

अध्यक्ष ओलीले हाल पार्टी एकताको सम्भावना नरहेको उल्लेख गर्दै नेता तथा कार्यकर्तालाई त्यसबारे भ्रममा नपर्न आग्रह गरे। उनले समूहगत वा संस्थागत रूपमा एकता नगर्ने स्पष्ट पार्दै पार्टीमा प्रवेश गर्न चाहने व्यक्ति वा समूहलाई भने उदारतापूर्वक समेटिने बताए।

पार्टी एकताका लागि पवित्रता आवश्यक पर्ने उल्लेख गर्दै ओलीले विगतमा एकताका नाममा स्वार्थ, गठजोड र दाउपेच हाबी भएको टिप्पणी गरे।

उनले गत फागुन २१ गते सम्पन्न निर्वाचनलाई २०८२ भदौ २३ र २४ गते भएका घटनालाई वैधानिकता दिन मञ्चन गरिएको नाटकको संज्ञा दिँदै गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमाथि पनि प्रश्न उठाए। आयोगको प्रतिवेदनमा भदौ २३ गते गोली कसले चलायो र सुरक्षा संयन्त्र किन निस्क्रिय भयो भन्ने विषय समेटिएको नदेखिएको भन्दै उनले घटनालाई ढाकछोप गर्न आयोग गठन गरिएको दाबी गरे।

अध्यक्ष ओलीले भदौमा भएका घटनालाई संविधान र लोकतन्त्रमाथिको आक्रमण तथा षड्यन्त्रको रूपमा चित्रण गर्दै त्यसलाई युवा विद्रोह वा आन्दोलनका रूपमा व्याख्या गर्ने भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖