• Sunday 4th of October 2026

इक्वेडरलाई सजिलै हराउँदै सह-आयोजक मेक्सिको अन्तिम १६ मा


  • धनकुटा खबर
  • .

मेक्सिको सिटी । सह-आयोजक मेक्सिकोले इक्वेडरलाई सजिलै हराउँदै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

खराब मौसमका कारण खेल केही ढिला सुरु भएको खेलमा मेक्सिको २–० गोलले विजयी बनेको हो ।

खेलमा घरेलु टोली मेक्सिकोले खेलको सुरुदेखि नै आक्रामक रणनीति अपनाएको थियो। खेलको २२औं मिनेटमा जुलियन क्विनोनेसले सानदार गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाए।

बायाँ तर्फबाट बललाई अगाडि बढाउँदै उनले प्रहार गरेको शक्तिशाली सट गोलपोस्टको भित्री भागमा लाग्दै जाली चुमेको थियो। पहिलो गोलको खुसीयाली सेलाउन नपाउँदै ३१औं मिनेटमा अनुभवी स्ट्राइकर राउल जिमेनेजले अर्को दर्शनीय गोल थपे।

विपक्षीले डिबक्स नजिकै बल नियन्त्रणमा लिन नसकेको फाइदा उठाउँदै जिमेनेजले २० यार्ड टाढाबाट प्रहार गरेको सट सिधै टप कर्नरमा छिरेपछि मेक्सिकोले आफ्नो स्थिति मजबुत बनायो।

पहिलो हाफमा इक्वेडरको रक्षापङ्क्ति निकै कमजोर र दबाबमा देखियो। यद्यपि, इक्वेडरले पनि गोलका केही अवसरहरू सिर्जना नगरेको होइन। जोन येबोआको एउटा प्रहार गोलपोस्टमा लागेर फर्किएको थियो भने उनको अर्को उत्कृष्ट प्रहारलाई मेक्सिकन गोलरक्षक राउल रंगेलले डाइभ गर्दै जोगाएका थिए।

दोस्रो हाफमा दुवै टोलीले गोलका लागि प्रयास गरे पनि थप गोल हुन सकेन । खेलको अन्त्यतिर मुख छोपेर बोलेका कारण पिएरो हिनकापीले रातो कार्ड पाएका थिए ।

अब मेक्सिकोले क्वार्टरफाइनल प्रवेशका लागि इंग्ल्याण्ड वा प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो बिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

हाभिएर एगिरेको प्रशिक्षणमा रहेको मेक्सिकोले समूह चरणका तीनवटै खेलमा कुनै पनि गोल नखाई जित हात पारेको थियो र टोली अहिले लगातार ७ खेलको जितको यात्रामा छ । मेक्सिकोले व्यहोरेको अन्तिम हार सन् २०२५ को अन्तिम खेलमा थियो । त्यसयता खेलेका ११ खेलमा टोलीले ९ जित र २ बराबरीको नतिजा निकालेको छ भने यस अवधिमा विपक्षीलाई मात्र दुई गोल सुम्पिएको छ ।

सन् १९७० र १९८६ मा विश्वकप आयोजना गर्दा क्वार्टरफाइनलसम्म पुगेको मेक्सिको यसपटक त्योभन्दा राम्रो नतिजा निकाल्ने लक्ष्यमा छ । मेक्सिको विश्वकप इतिहासमै तीन पटक प्रतियोगिता आयोजना गर्ने पहिलो राष्ट्र समेत बनेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖