• Tuesday 6th of October 2026

मुल्य घटे पनि पुरानै मुल्यमा पेट्रोल बिक्री


  • धनकुटा खबर
  • .

सञ्जय मिश्रा/रौतहट, १७ असार। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको भोलिपल्टै रौतहटको गरुडास्थित श्रीराम आयल स्टोर्स विवादमा तानिएको छ। मूल्य समायोजन भइसकेपछि पनि पुरानै दरमा पेट्रोल बिक्री गरेको आरोप पम्पमाथि लागेको हो।

नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले घटाएको थियो। नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १९५ रुपैयाँमा बिक्री हुनुपर्ने भए पनि उक्त पम्पले २१५ रुपैयाँकै दरमा बिक्री गरेको भन्दै उपभोक्ताहरूले गुनासो गरेका छन्।

स्थानीय एक सेवाग्राहीले मोटरसाइकलमा पेट्रोल भरेपछि पुरानै मूल्य लिइएको दाबी गर्दै फेसबुक लाइभमार्फत विरोध जनाएका छन्। उनले सरकारले निर्धारण गरेको नयाँ मूल्य कार्यान्वयन नगरी उपभोक्तामाथि अन्याय गरिएको आरोप लगाउँदै सम्बन्धित निकायसँग छानबिन र कारबाहीको माग गरेका छन्।

घटनापछि सामाजिक सञ्जालमा पनि व्यापक प्रतिक्रिया देखिएको छ। धेरैले मूल्य घटेपछि पनि उपभोक्ताबाट बढी रकम असुलिएको भन्दै स्थानीय प्रशासनले तत्काल अनुगमन गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने बताएका छन्।

यता, नेपाल आयल निगमले मूल्य घटाएको सूचना सार्वजनिक भएपछि रौतहट र बाराका अधिकांश पेट्रोल पम्प केही समय बन्द गरिएको आरोपसमेत उपभोक्ताहरूले लगाएका छन्। मूल्य बढ्दा तत्काल नयाँ दर लागू गर्ने तर मूल्य घट्दा पुरानो मौज्दात सक्ने उद्देश्यले सेवा अवरुद्ध गरिएको हुन सक्ने आशंका उनीहरूको छ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा श्रीराम आयल स्टोर्सका सञ्चालक जयलाल साह सम्पर्कमा आउन चाहेनन्।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा अनियमितता भएको पुष्टि भए तत्काल कानुनी प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन दिइएको जानकारी दिए। कसैले सरकारले तोकेकोभन्दा बढी मूल्यमा इन्धन बिक्री गरेको पाइए कानुनबमोजिम कारबाही गरिने उनले बताए।

घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न स्थानीय उपभोक्ताहरूले सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖