मुम्बई, १९ असार । राजकुमार र सुनिल दत्त अभिनित चलचित्रबाट आफ्नो करियर सुरु गरेकी अभिनेत्री विमीले आफ्नो पेसागत जीवनमा ठूलो सफलता हासिल गरिन् तर जति तीव्र गतिमा उनको करियर उचाइमा पुगेको थियो, त्यति नै छिटो रूपमा करिअर धराशायी पनि भयो। आउनुहोस्, विमीको संघर्षको कथामाथि एक नजर हालौँ ।
बीआर चोपडाको सुपरहिट चलचित्र ‘हमराज’ मार्फत रातारात चर्चामा आएकी विमीको व्यक्तिगत जीवनलाई हेर्दा उनले निकै ठूलो पीडा भोगेको पाइन्छ। उनको निजी जीवन निकै कष्टपूर्ण थियो।
बलिउडकी चर्चित अभिनेत्री विमीले निकै ख्याति कमाएकी थिइन् तर उनको शव ठेलागाडामा राखेर लगिएको दृश्य देखेर सबैजना स्तब्ध भएका थिए । ३४ वर्षको उमेरमा निधन भएकी विमीको पार्थिव शरीरलाई एक व्यक्तिले ठेलागाडामा तानेर अन्त्येष्टि स्थलसम्म लैजाँदै गरेको दृश्यले सबैलाई मर्माहत बनाएको थियो ।
विमी आफ्नो समयकी एक लोकप्रिय र धनी अभिनेत्री थिइन्। निर्माताहरू उनलाई आफ्ना चलचित्रमा लिन उनको घरबाहिर लाम लाग्थे तैपनि विलासिता, ख्याति र सफलताले भरिएको उनको जीवनको अन्त्य भने दुःखद रूपमा भयो।
विमीको जीवन पीडाले भरिएको थियो । उनले आफ्ना पहिलो पतिलाई गुमाइन् भने त्यसपछि जीवन साथीका रूपमा रोजेका व्यक्तिले उनलाई पैसा कमाउन यौन व्यवसायमा धकेलि दिए। यसको परिणामस्वरुप मदिराको लतले ती अभिनेत्रीको स्वास्थ्यलाई तहसनहस बनायो र उनलाई निकै नै आर्थिक संकटमा धकेलिदियो ।
विमीको निधन हुँदा उनलाई भेट्न कोही आएनन्। अत्यधिक मद्यपानका कारण उनको कलेजोले काम गर्न छोडिसकेको थियो, न त उनीसँग उपचारका लागि पैसा थियो, न त उपचारको प्रबन्ध मिलाइदिने कोही आफन्त नै साथमा थिए। एक दिन उनको अवस्था गम्भीर भए पछि उनले जोलीलाई सम्पर्क गरिन् तर जोलीले उनलाई मुम्बईको नानावती अस्पतालको सामान्य वार्डमा भर्ना गराएर सहयोग त गरे तर त्यसपछि उनी पनि त्यहाँबाट भागिदिए ।
परिस्थिति यस्तो थियो कि न त कसैले भिमीलाई भेट्न आउँथे, न त उनको हेरचाह गर्ने कोही नै अस्पतालमा थियो। अन्ततः २२ अगस्ट १९७७ मा भिमीको निधन भयो। अत्यधिक ख्याति कमाएकी भए तापनि उनको जीवनको अन्तिम चरण अत्यन्त कष्टपूर्ण थियो।
