• Sunday 4th of October 2026

बेल्जियमले ३ जीत्दा अमेरिका १ जीतमा सिमित, भिडदैछन विश्वकपमा आज


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ असार । फिफा विश्वकपको ‘राउन्ड अफ १६’ को आजको दोस्रो खेल सह आयोजक राष्ट्र अमेरिका र बेल्जियम बीच हुदैँछ  । 

 

यो खेल सिएटल स्टेडियममा नेपाली समय अनुसार आज बिहान ५ः४५ बजेवाट सुरु हुनेछ।

 

अमेरिका र बेल्जियमबीच सातवटा अन्तर्राष्ट्रिय खेलहरू खेलिएका छन्। तीमध्ये बेल्जियमले छ खेल जितेको छ भने अमेरिकाले केवल एउटामा मात्र जित हासिल गरेको छ।

 

फिफा विश्वकपमा यी दुई टोलीबीच हुने यो तेस्रो भेट हुनेछ। सन् १९३० को विश्वकपमा भएको अघिल्लो भेटमा अमेरिका विजयी भएको थियो जबकी सन् २०१४ को विश्वकपको ‘राउन्ड अफ १६’ को खेलमा बेल्जियम २–१ ले विजयी भएको थियो।

 

अमेरिकाले यस विश्वकपमा आफ्ना चारमध्ये तीन खेल जितेको छ भने एउटामा हार बेहोरेको छ। ‘राउन्ड अफ ३२’ मा अमेरिकाले बोस्निया र हर्जगोभिनालाई २–० ले पराजित गरेर बेल्जियमसँग मैदानमा उत्रन लागेको हो । त्यसअघि समूह चरणमा टोलीले अस्ट्रेलियालाई २–० र पाराग्वेलाई ४–१ ले हराएको थियो भने उनीहरूले बेहोरेको एकमात्र हार टर्कीविरुद्धको ३–२ को नतिजा थियो।

 

बेल्जियम एउटा पनि खेल नहारी ‘राउन्ड अफ १६’ मा आइपुगेको हो । टोलीले दुई खेल जित्यो भने दुई खेल बराबरीमा टुंग्यायो। ‘राउन्ड अफ ३२’ को रोमाञ्चक खेलमा बेल्जियमले सेनेगललाई ३–२ ले पराजित गर्‍यो। यसअघि समूह चरणमा टोलीले न्युजिल्यान्डलाई ५–१ ले हराएको थियो भने इरान ०–० र इजिप्ट १–१ विरुद्ध बराबरी खेलेको थियो।

 

अमेरिकी टोली आफ्नै घरेलु मैदानमा र समर्थकहरूको अगाडि गोलका लागि स्टार विङ्गर क्रिस्टियन पुलिसिकमा निर्भर रहनेछ अर्कोतर्फ बेल्जियम स्टार मिडफिल्डर केभिन डी ब्रुइन र स्ट्राइकर रोमेलु लुकाकुको जोडीमा भर पर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यमा हुनेछ।

दुवै टोलीका लागि सम्भावित सुरुवाती ११ः 

अमेरिकाः टर्नर, स्क्याली, रिचर्ड्स, रिम, रोबिन्सन, म्याकेनी, एडम्स, मुसाह, विया, राइट, पुलिसिक।

बेल्जियमः कास्टिल्स, फाएस, भेर्टोन्गेन, थिएट, कास्टाग्ने, ओनाना, मंगाला, डोकु, डि ब्रुइन, ट्रोसार्ड, लुकाकु।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖