विराटनगर । जिल्ला अदालत मोरङले अभिषेक गिरीलाई थुनामुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको छ।
सोमबार न्यायाधीश टंकबहादुर महतको इजलासले उच्च अदालतको अघिल्लो आदेशलाई सदर गर्दै गिरीलाई हिरासतमा नराखी बाहिरैबाट अनुसन्धान गर्न निर्देशन दिएको हो।
मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता र श्रमको पारिश्रमिक असुली गरेको आरोपमा पक्राउ परेका गिरीलाई जिल्ला प्रहरी कार्यालय मोरङले ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ मुद्दामा थप अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा उपस्थित गराएको थियो। तर अदालतले उनलाई थुनामुक्त गर्दै अनुसन्धान जारी राख्न आदेश दिएको हो।
यद्यपि, गिरीका सहयोगी सञ्जय मण्डल, विनोदकुमार सिंह र विजय कामतलाई भने आपराधिक लाभसम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि ७ दिन थुनामा राख्न अनुमति दिइएको छ।
अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार, अन्य तीन जनाको हकमा अनुसन्धान जारी राख्न म्याद थप गरिएको छ।
