काठमाडौँ । फिफा विश्वकप २०२६ को प्रि-क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिनासँग ३-२ को हार व्यहोरेपछि इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले असन्तुष्टि व्यक्त गरेका छन्।
दुई गोलको अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिनु परेको पीडामा रहेका हसनले आफ्नो टोली ‘अन्याय’ को सिकार भएको दाबी गरेका हुन्।
खेलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रशिक्षक हसनले मैदान भित्र र बाहिरका विभिन्न शक्तिहरूले अर्जेन्टिना र विशेष गरी लियोनेल मेस्सीलाई प्रतियोगितामा अघि बढाउन भूमिका खेलेको आरोप लगाए।
उनले खेलको प्राविधिक पक्षभन्दा बाह्य तत्वहरूले नतिजा निर्धारण गरेको उल्लेख गर्दै भने, ‘हामी साविक विजेताभन्दा हरेक क्षेत्रमा उत्कृष्ट थियौँ, तर नतिजा प्रभावित भयो। सायद उनीहरू विश्व च्याम्पियनलाई प्रतियोगितामा टिकाइराख्न चाहन्थे र मेसीलाई उपाधि दौडबाट बाहिर पठाउन चाहेनन्।’ उनले अर्जेन्टिनालाई हरेक तहबाट समर्थन प्राप्त भएको र रेफ्रीको छनोटमा समेत आफूहरूको असहमति रहेको बताए ।
इजिप्टको मुख्य आक्रोश भिडियो असिस्टेन्ट रेफ्रीको भूमिकाप्रति देखिएको छ। हसनका अनुसार इजिप्टले गरेको एउटा वैध गोललाई विना स्पष्ट कारण रद्द गरियो भने कप्तान मोहम्मद सलाहमाथि डिबक्स भित्र भएको फाउलमा पेनाल्टी दिइएन।
खेलको अन्तिम समयमा इन्जो फर्नान्डेजले निर्णायक गोल गर्नुअघि एलेक्सिस म्याक एलिस्टरले इजिप्टका खेलाडीको जर्सी स्पष्ट रूपमा तानेको भए पनि भीएआरले त्यसलाई बेवास्ता गरेको हसनको गुनासो छ।
‘खेलकुदमा निष्पक्षता हुनुपर्ने हो, तर आज हामीले त्यो देख्न पाएनौँ,’ उनले आक्रोशित हुँदै थपे।
खेलाडीहरूले पनि प्रशिक्षकको भनाइमा सहमति जनाएका छन्। इजिप्टका लागि दोस्रो गोल गरेका मोस्तफा जिकोले खेल आफ्नो नियन्त्रणमा भए पनि रेफ्रीका केही निर्णयले लय बिगारेको बताए।
खेलका क्रममा लियोनेल मेसीको पेनाल्टी बचाएर सनसनी मच्चाएका गोलकिपर मोस्तफा सोबियरले हारप्रति दुःख व्यक्त गरे। त्यस्तै, वैकल्पिक गोलकिपर मोहम्मद आलाले रेफ्रीको पक्षपातपूर्ण व्यवहार सबैका सामु छर्लङ्ग भएको दाबी गरे।
तनावपूर्ण खेलको अन्त्यमा प्रशिक्षक हसन र रेफ्री फ्रान्स्वा लेटेक्सियरबीच भनाभन समेत भएको थियो।
यद्यपि, हारपछि ड्रेसिङ रुममा पुगेका कप्तान मोहम्मद सलाहले भने संयमता अपनाउँदै साथीहरूलाई सम्झाएका थिए।
उनले यसलाई ‘भाग्यको खेल’ भन्दै भविष्यमा राम्रो गर्ने हौसला दिएको टोलीका सदस्यहरूले बताएका छन्। खेलपछि निकै निराश देखिएका प्रशिक्षक हसनले भने अब आफूले यस विश्वकपका बाँकी कुनै पनि खेल नहेर्ने घोषणा समेत गरेका छन् ।
