काठमाडौ । स्विट्जरल्यान्डले फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै ७२ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
क्यानडाको बीसी प्लेस, भ्यानकुभरमा सम्पन्न खेल निर्धारित ९० मिनेट तथा अतिरिक्त ३० मिनेटसम्म गोलरहित बराबरीमा सकिएपछि नतिजा पेनाल्टी सुटआउटबाट टुंग्याइएको थियो।
पेनाल्टीमा कोलम्बियाका जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गरे। तर डेभिन्सन सान्चेज र कुचो हर्नान्डेज गोल गर्न असफल भएपछि टोली विश्वकपबाट बाहिरियो।
स्विट्जरल्यान्डका लागि ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले सफल प्रहार गरे। म्यानुअल अकांजीले भने पेनाल्टी गोल गर्न सकेनन्।
सन् १९५४ को विश्वकपपछि पहिलो पटक क्वार्टरफाइनल पुगेको स्विट्जरल्यान्डका लागि यो ऐतिहासिक उपलब्धि हो। १३औँ पटक विश्वकप खेलिरहेको स्विट्जरल्यान्डले इतिहासमा चौथोपटक अन्तिम आठमा स्थान बनाएको हो।
अब स्विट्जरल्यान्डले सेमिफाइनल प्रवेशका लागि साविकको विश्व विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ।
यता, कोलम्बियाको भने दोस्रो पटक विश्वकपको क्वार्टरफाइनल पुग्ने सपना अधुरै रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।
