काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी कर्मचारीका लागि ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ लागू गरेको छ। मन्त्रालयका अनुसार कर्मचारीको आचरण, अनुशासन, सदाचार र सेवा प्रवाहलाई प्रभावकारी बनाउन नयाँ आचारसंहिता लागू गरिएको हो।
मन्त्री प्रतिभा रावलको असार १६ गतेको निर्णयबाट स्वीकृत आचारसंहिता असार २२ गतेदेखि कार्यान्वयनका लागि मन्त्रालयअन्तर्गतका सबै निकायमा पठाइएको छ।
सामाजिक सञ्जाल प्रयोगमा कडाइ
आचारसंहिताअनुसार कर्मचारीले कार्यालय समय, कार्यालय परिसर वा फिल्डमा खटिएको अवस्थामा कार्यालयको पोसाकमा खिचिएका फोटो वा भिडियो सामाजिक सञ्जालमा राख्न पाउने छैनन्। यद्यपि, शिक्षामूलक वा सूचनामूलक सामग्रीका हकमा भने यो व्यवस्था लागू हुने छैन।
कर्मचारीले फेसबुक, एक्स (ट्विटर), ह्वाट्सएप, टिकटक लगायत सामाजिक सञ्जाल प्रयोग गर्दा सेवाको मर्यादा र निष्पक्षतामा असर नपर्ने गरी व्यावसायिक सतर्कता अपनाउनुपर्ने उल्लेख गरिएको छ। साथै, सरकारको नीति तथा कार्यक्रमविपरीत लेख, विचार वा टिप्पणी सार्वजनिक गर्न पनि रोक लगाइएको छ।
सेवाग्राहीसँगको व्यवहार
आचारसंहिताले कर्मचारीलाई सेवाग्राहीसँग शिष्ट, समान र मर्यादित व्यवहार गर्न निर्देशन दिएको छ। धर्म, जात, लिङ्ग, वर्ण वा अन्य कुनै आधारमा विभेद गर्न नपाइने तथा कुनै पनि प्रकारको पक्षपात वा पूर्वाग्रह बिना सेवा दिनुपर्ने व्यवस्था गरिएको छ।
अन्य प्रमुख व्यवस्था
कार्यस्थल बाहिर सेवाग्राहीसँग व्यक्तिगत भेटघाट गर्न नपाइने।
सेवाग्राहीको प्रतिनिधि वा एजेन्टका रूपमा काम गर्न नपाइने।
पदको दुरुपयोग गरी व्यक्तिगत वा पारिवारिक लाभ लिन निषेध।
कार्यालय समयको पूर्ण पालना तथा तोकिएको पोसाक र परिचयपत्र अनिवार्य।
कार्यालय वा सार्वजनिक स्थानमा मदिरा सेवन, धूम्रपान तथा जुवातास खेल्न निषेध।
सरकारी छाप, प्रतीक चिन्ह, इमेल, पासवर्ड, कागजात तथा सूचना प्रणालीको सुरक्षा सुनिश्चित गर्नुपर्ने।
सरकारी सम्पत्ति वा उपकरण व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न नपाइने।
मन्त्रालयले आचारसंहिता कार्यान्वयनको नियमित अनुगमन सचिव वा तोकिएको अधिकृतबाट गरिने जनाएको छ। आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।
