काठमाडौं । एमालेनिकट युवाहरूले सञ्चालन गरेको ‘पुनर्जागरण अभियान–२०८२’ अन्तर्गत गरिएको मत सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको छ। अभियानकर्ताहरूका अनुसार असार १२ देखि २२ गतेसम्म सञ्चालन गरिएको सर्वेक्षणमा पार्टी रूपान्तरण, नेतृत्व हस्तान्तरण, संगठन पुनःसंरचना र आन्तरिक लोकतन्त्रबारे सुझाव संकलन गरिएको थियो।
गुगल फर्ममार्फत गरिएको सर्वेक्षणमा स्वदेश तथा विदेशका १४ देशमा रहेका एमालेका संगठित सदस्य, समर्थक, शुभेच्छुक तथा स्वतन्त्र नागरिक सहभागी भएका थिए। अभियानकर्ता गजेन्द्र थपलियाका अनुसार सर्वेक्षण प्रतिवेदन बिहीबार एमाले महासचिव तथा पुनर्गठन कार्यदलका सदस्यसचिव शंकर पोखरेललाई बुझाइएको छ।
सर्वेक्षणका मुख्य निष्कर्ष
९१.४% सहभागीले एमालेमा रूपान्तरण आवश्यक रहेको बताएका छन्।
९५.४% ले वर्तमान नेतृत्वको व्यवहार र आचरण सुधार गर्नुपर्ने बताएका छन्।
९४.९% ले नेतृत्वको कार्यशैली परिवर्तन हुनुपर्ने मत दिएका छन्।
८७.५% ले पार्टीको विद्यमान नीति परिवर्तन गर्नुपर्ने बताएका छन्।
८७.६% ले नेतृत्व परिवर्तनको पक्षमा मत दिएका छन्।
९१.४% ले संगठनात्मक संरचनामा परिवर्तन आवश्यक रहेको बताएका छन्।
८२.९% ले नेतृत्व चयनमा सबै संगठित सदस्यको प्रत्यक्ष मताधिकार हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
८२.८% ले पार्टी वा संसदीय निर्वाचनमा एउटै पदमा अधिकतम दुई कार्यकाल मात्र रहने व्यवस्था हुनुपर्ने बताएका छन्।
महाधिवेशनबारे धारणा
एमाले पुनःसंरचनाको निकासबारे:
४७.७% ले विशेष महाधिवेशनको पक्षमा मत दिएका छन्।
२५% ले समयअघि (अर्ली) महाधिवेशन गर्नुपर्ने बताएका छन्।
२४.४% ले केन्द्रीय कमिटीमार्फत समाधान खोज्नुपर्ने धारणा राखेका छन्।
नेतृत्व हस्तान्तरण
भावी नेतृत्वबारे:
५०.२% ले केन्द्रीय कमिटीभित्रबाट नेतृत्व आउनुपर्ने बताएका छन्।
२६.४% ले केन्द्रीय कमिटीबाहिरबाट नयाँ नेतृत्व खोज्नुपर्ने धारणा व्यक्त गरेका छन्।
१६.७% ले वर्तमान पदाधिकारीभित्रबाट नेतृत्व हस्तान्तरण उपयुक्त हुने बताएका छन्।
सर्वेक्षणमा सबैभन्दा बढी सहभागिता ४०–६० वर्ष उमेर समूहका (४३.७ प्रतिशत) व्यक्तिको रहेको थियो भने ६० वर्षमाथिका ३७.१ प्रतिशत र १८–३० वर्ष समूहका १३.७ प्रतिशत सहभागी थिए।
